Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरमा दुई जनप्रतिनिधिको निधन




उदयपुर । उदयपुर जिल्लाका दुई जना जनप्रतिनिधिको शनिबार निधन भएको छ । रौतामाई गाउँपालिका वडा नं. २ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नं. ३ का वडा सदस्य छविलाल मगरको निधन भएपछि दुबै गाउँपालिकामा आइतबार शोक बिदा दिइएको छ ।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार वडाध्यक्ष होमबहादुर दाहालको काठमाडौंस्थित टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो । मुटु रोग, सुगर र रक्तचापका समस्याबाट पीडित दाहालको मुटुको शल्यक्रिया गरिएको थियो । तर, शल्यक्रिया सफल हुन नसकेपछि शनिबार उनको निधन भएको अध्यक्ष मगरले जानकारी दिए ।

नेकपा एमालेका प्रदेश विभाग सदस्यसमेत रहेका दाहाल २०७९ सालको स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए। यसअघि २०५४ सालमा उनी भुट्टार गाविसका अध्यक्ष पनि भएका थिए । उनको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको आइतबार अन्त्येष्टि गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, नेपाली कांग्रेसबाट निर्वाचित ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविलाल मगरको शनिबार घरमै निधन भएको हो ।

दुई जना जनप्रतिनिधिको निधनप्रति गाउँपालिकाहरुले गहिरो दुःख व्यक्त गर्दै आज एक दिनको शोक बिदा घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार