Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पूर्वराष्ट्रपति भण्डारीको टिप्पणी : ‘गठबन्धनका कारण महिला नेतृत्व घट्दो अवस्थामा’



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय गठबन्धनको राजनीति बढ्दै जाँदा महिलाको नेतृत्वमा कमी देखिएको टिप्पणी गरेकी छन्। शुक्रबार विराटनगरमा सुरु भएको स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले महिलाको राजनीतिक पहुँच घट्दो अवस्थामा रहेकोमा चिन्ता व्यक्त गरिन्।

‘राजनीतिक दलहरूले लोकतान्त्रिक मूल्य र समावेशिताको संरक्षण गर्न महिला नेतृत्वमा विशेष ध्यान दिनु आवश्यक छ,’ उनले भनिन्, ‘गठबन्धनको कारण धेरै योग्य महिलाहरू पछाडि परेका छन्।’

पूर्वराष्ट्रपतिले विकास निर्माण र आर्थिक समृद्धि सुनिश्चित गर्न जनप्रतिनिधिहरूले गहिरो चासो दिनुपर्ने उल्लेख गरिन्। उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी जनतालाई केन्द्रमा राख्ने कार्यक्रम र नीतिमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रमपश्चात पत्रकारहरूले उनलाई पार्टी अध्यक्ष बन्ने सम्भावनाबारे प्रश्न गर्दा उनले मुस्कुराउँदै भनिन्, ‘समय आउला नि।’  साथै, उनले आफू अझै सक्रिय राजनीतिमा रहेको स्पष्ट पारिन्।

यो सम्मेलनमा देशभरिका महिला उपप्रमुख र उपाध्यक्षहरूको सहभागिता रहेको छ। कार्यक्रमले महिला नेतृत्वको सशक्तिकरण, नीति निर्माणमा भूमिका, तथा संघीय संरचनामा उनीहरूको प्रभावशाली उपस्थिति कसरी बढाउने भन्ने विषयमा छलफल गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार