Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

“भिजिट भिसा प्रकरणको जवाफ संसदमै दिनेछु” : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थलमा देखिएको भिजिट भिसा प्रकरणबारे संसदमै विस्तृत जवाफ दिने बताएका छन्। बुधबारको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री लेखकले संसदीय छलफलमै सम्पूर्ण प्रश्नहरूको उत्तर दिने तयारी रहेको जानकारी दिए।

भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालयका कर्मचारीहरूमाथि अख्तियारले अनुसन्धान गरिरहेको विषयमा सांसदहरूले प्रश्न उठाएका थिए। यसबारेमा मन्त्री लेखकले समितिमा मात्रै सीमित उत्तर दिनु उचित नहुने भन्दै सबै सांसदलाई सम्बोधन गर्न संसदलाई प्राथमिकता दिने बताए।

यसैबीच, राजतन्त्र पक्षधर नेताहरूका सुरक्षाकर्मी फिर्ता बोलाइएकोबारे उठेको प्रश्नमा मन्त्री लेखकले आन्दोलनमा खटाउन सुरक्षाकर्मी हटाइएको र आन्दोलन समाप्त भएपछि उनीहरू पुनः खटाइने जानकारी दिए।

उनले गणतन्त्रको रक्षाका लागि प्रतिबद्धता जनाउँदै भने, “संविधान, संघीयता, लोकतन्त्र उल्ट्याउने कोसिसले देशलाई फेरि अन्धकारमा लैजान्छ, यस्तो काम गर्न कोही नअगाडि बढून।”

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार