विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताएका छन् । उनले यस्ता व्यक्ति तथा समूहलाई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पारे ।
आज विराटनगरमा आयोजित “सहकारी ऐन र कार्यान्वयनका चुनौती” विषयक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव वा प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिए ।
उनले सहकारीका सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न प्रदेश सरकार तयार रहेको बताउँदै भने, “सिद्धान्तभन्दा बाहिर गई सञ्चालन भएका सहकारीहरू एक न एक दिन समस्यामा पर्छन्।” थोरै(थोरै बचत गरेर धेरै बनाउला भन्ने सर्वसाधारण अहिले सडकमा रहेको भन्दै उनले तिनीहरूलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा आर्थिक मामिला मन्त्री राम रानाले सदस्यको नियमनमा चल्ने सहकारीलाई सदस्यहरूले नै नियमन गर्न नसकेको बताए ।
आफ्नो सहकारी गैरकानुनी बाटो हिँडिरहेको छ कि छैन भन्ने कुरामा सदस्यहरू नै सचेत बन्नुपर्ने आवश्यकता रहेकोमा मन्त्री रानाले जोड दिए । उनले समितिलाई काम गर्न सहज बनाउने वातावरण सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको समेत स्पष्ट पारे ।
त्यसैगरी कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले सहरका सहकारीमा बढी समस्या देखिएकाले सहकारीप्रति वितृष्णा बढेको बताए ।