Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

नेकपा एमालेका नेता प्रदीप नेपालको निधन



काठमाडौं । नेकपा (एमाले)का नेता, पूर्वमन्त्री तथा साहित्यकार प्रदीप नेपालको ७२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित रहेका नेपालको उपचारका क्रममा नर्भिक अस्पताल, थापाथलीमा निधन भएको हो।

उनका भाइ तथा एमाले नेता समीर नेपालका अनुसार छातीमा गम्भीर संक्रमण देखिएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई अति सघन उपचार कक्ष (सिसियु) मा भर्ना गरिएको थियो। अस्पतालका प्रशासन प्रमुख विमल बोगटीका अनुसार डा. सुरज गुप्ताको नेतृत्वमा भएको उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।

वि.सं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल विद्यार्थी राजनीतिबाट सक्रिय जीवनको सुरुआत गरेका थिए। वि.सं. २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य बनेर सुरु भएको उनको राजनीतिक यात्रा कम्युनिस्ट आन्दोलनको कठोर भूमिगत चरणसम्म फैलिएको थियो।

नेकपा (माले) को स्थापना पछि लुम्बिनी, बाँके, बर्दिया, मेची क्षेत्र, भारत प्रवास र उपत्यकामा पार्टी नेतृत्व सम्हालेका उनी चर्चित नख्खु जेल ब्रेक घटनाका सहभागीमध्ये एक थिए। इलाममा पार्टी जिम्मेवारी सम्हाल्ने क्रममा उनले झुमा देवानसँग वैवाहिक जीवन थालनी गरेका थिए।

राजनीतिक जीवनसँगै साहित्य क्षेत्रमा पनि नेपालको विशिष्ट योगदान छ। उपन्यास, कथा, नियात्रा, गीत लेखन र गायनमा उनले सक्रियता देखाएका थिए। उनका कैयौँ कृतिहरू प्रकाशित छन्। माले स्थापनाका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाइको किनार’ पछि चलचित्रका रूपमा पनि निर्माण गरिएको थियो। उनका सहोदर दाइ प्रसिद्ध कवि मञ्जुल (मेघराज नेपाल) हुन्।

नेपाल माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य थिए। उनले नेकपा एमालेको मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादकका रूपमा काम गरे, साथै दृष्टि र छलफल साप्ताहिकको सम्पादन पनि गरेका थिए।

वि.सं. २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीका रूपमा मन्त्रीपरिषद्मा प्रवेश गरेका थिए। त्यसपछि उनले जलस्रोत र शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए। नेपालको कार्यकालमा सरकारी लगानीमा पहिलोपटक कालिगण्डकी जलविद्युत् परियोजनाको थालनी भएको थियो।

प्रदिप नेपालको निधनले नेपाली राजनीति, साहित्य र पत्रकारिता क्षेत्रले एक बहुआयामिक व्यक्तित्व गुमाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार