विराटनगर। कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते गर्ने लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकसिङ गर्ने तयारी गरेको छ। प्रदेश लगानी प्राधिकरणको बैठकले विभिन्न आठ क्षेत्रका आयोजना सोकसिङ गर्ने तयारी गरेको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले बताए।
प्राधिकरणले यसअघि ५४ वटा परियोजना स्वीकृत गरेकोमा अहिले ७१ वटा परियोजना थपेको छ। ती योजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रहेको छ। लगानी सम्मेलनपछि ती आयोजना मध्ये केहीमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी पनि गरिएको छ।
कोशी प्रदेश सरकारले पहिलोपटक सुरु गर्न लागेको यो लगानी सम्मेलन प्रादेशिक संरचना बनेपछि प्रदेश सरकारले आयोजना गर्न लागेको पहिलो सम्मेलन हो।
सम्मेलनमा चीन, कोरिया, भारत लगायत विभिन्न देशमा बस्ने गैरआवासीय नेपालीहरू सहभागी हुनेछन्। सम्मेलनमा लगानीका विभिन्न क्षेत्रका आयामहरूका बारेमा सेमेटिएका सेसनहरू सञ्चालन गरिनेछ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीका अनुसार यो लगानी सम्मेलनले कोशी प्रदेशमा लगानीको सम्भावना खोल्नेछ र प्रदेशमा लगानीको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
कोशी प्रदेश सरकारले लगानी सम्मेलनपछि पनि निरन्तर लगानीकर्तालाई सहजीकरण गर्ने, कानुनमा सुधार गर्ने र सबै किसिमका सहजीकरणका काम अघि बढाउने योजना बनाएको छ।