Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जनार्दन समूहले टेरेन प्रचण्डको निर्देशन, विराटनगरको नेतृत्व चयन चुनावबाटै हुने



विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिमा नेतृत्व चयनलाई लिएर भएको गुटगत प्रतिस्पर्धा अन्ततः मतदानको चरणमा पुगेको छ। पछिल्ला दिनमा जनार्दन समूहको बढ्दो प्रभाव र प्रचण्ड पक्षसँगको द्वन्द्वका कारण सहमतिको प्रयास विफल भएपछि शनिबार निर्वाचनमार्फत पदाधिकारी चयन हुने भएको हो।

बैशाख ७ गते सुरु भएको अधिवेशनमा नेतृत्व चयन नगरी सर्वसहमतिका लागि स्थगित गरिएको थियो । तर सहमति हुन नसकेपछि निर्वाचनको तालिका सार्वजनिक गरिएको हो ।

निर्वाचन समितिले बुधबार सार्वजनिक गरेको तालिकाअनुसार वैशाख १३ गते बिहानैदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ भने दिउँसो १:३० बजेबाट मतदान हुनेछ। मतगणना सोही दिन दिउँसो ३:३० बजे सुरु गरिनेछ र त्यसपछि परिणाम सार्वजनिक गरिनेछ।

महानगर नेतृत्वका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नमिता न्यौपानेलाई समर्थन जनाए पनि जनार्दन समूहको प्रभावका कारण नमितालाई सर्वसम्मत बनाउन सकिएन। दिनेश राजवंशी र ज्ञानु भट्टराईसमेत अध्यक्षको आकांक्षी बनेपछि सहमतिको प्रयास असफल भयो।  प्रचण्डले महानगर अघिवेशनको उद्घाटन गर्दै सर्वसहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर उनको चाहना अनुसार नमितालाई अध्यक्षमा जनार्दन समूहले नस्वीकारेपछि चुनाव हुने भएको हो ।

राजवंशीलाई जनार्दन समूहको समर्थन छ भने नमिता प्रचण्डको ‘लाइन’बाट अघि बढेकी हुन्। नेताहरुबीच सहमति नभएपछि नेतृत्व चयनका लागि अब मतदाताले निर्णायक भूमिका खेल्ने छन्।

हालै सम्पन्न प्रेस सेन्टर कोशीको अधिवेशनमा पनि जनार्दन समूह हाबी देखिएको थियो। त्यहाँ पूर्व पर्यटनमन्त्री सुदन किराँतीनिकट राजन समीप राई विजयी भए। उनले प्रचण्ड पक्षका नवराज कट्टेललाई पराजित गरेका थिए।

जनार्दन समूहको नेतृत्व उपमहासचिव इन्द्रबहादुर आङ्बोले गरिरहेका छन्। पूर्व मन्त्री शिवकुमार मण्डल, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ९मिक्सो० र सुदन किराँतीलगायत नेताहरू सो गुटमा सक्रिय छन्।

जनार्दन समूहमाथि जातीयता केन्द्रित गुट संचालन गरेको आरोप लागेको छ। नाकको आधारमा व्यवहार हुँदैछु भन्ने आरोप पार्टीभित्रैबाट उठ्न थालेको छ। प्रेस सेन्टरदेखि महानगर सम्मेलनसम्म जातीय समिकरणलाई प्राथमिकता दिएको भन्ने असन्तुष्टि बढ्दो छ।

गुटविरुद्ध बोल्ने नेताहरूमाथि अनुशासनको कारबाही सुरु भएको छ। प्रदेश सचिवालय सदस्य मदन चुडालले सामाजिक सञ्जालमा जनार्दन शर्माविरुद्ध टिप्पणी गरेपछि पार्टीले उनलाई लिखित स्पष्टीकरण मागेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार