सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा क्षेत्र पर्यटकको चापले भरिएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेका अनुसार सोमबार मात्रै करिब ७ सय पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेका छन्।
निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार ६९४ पर्यटक खुम्बु प्रवेश गरे, जसमा ६०८ जना विदेशी र ८६ जना नेपाली थिए। नाम्चे बजारसम्मको यात्रामा ६५२ विदेशी र १५१ नेपाली देखिएको उनको भनाइ छ।
पर्यटकको चाप अत्यधिक बढेका कारण खुम्बु क्षेत्रका अधिकांश होटेल भरिभराउ छन्। “होटलहरू पहिल्यै बुक भएका छन्, बास पाउन मुस्किल भइरहेको छ,” सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताए।
यस वर्षको वसन्त मौसम अनुकूल भएकाले लुक्ला विमानस्थलमा उडानहरू पनि बाक्लिएका छन्। “मौसम राम्रो भएकाले आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको हो,” तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिए।
उनका अनुसार दैनिक उडान संख्या बढाइएकाले पर्यटकको आवागमन सहज भएको छ, जसको असर होटेल बुकिङमा प्रत्यक्ष देखिएको छ।