विराटनगर । पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोशी प्रदेश पर्यटन वर्ष–२०८२ को उद्घाटनलाई भव्य बनाउन सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आर्थिक रुपमा कोशी प्रदेशलाई समृद्ध बनाउन प्रदेश सरकारले पर्यटन वर्ष आयोजना गर्न लागेको र यो कार्यको सुरुवात उद्घाटनबाटै हुने मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।
यो कार्यक्रमले कोशी प्रदेशमा रहेका कृषि, पर्यटन तथा जलविद्युतलाई वाह्रय मुलुकमा निर्यात गरेर राष्ट्रपुजी निर्माण गर्न सकिने उनको भनाई छ । चैत २७ गते लालीगुराँसको राजधानी तिनजुरेमा हुने उद्घाटन कार्यक्रममा मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने छन् । कार्यक्रम स्थल निर्माणदेखि अवलोकन स्थल सम्मको व्यवस्थापन गर्ने काम अहिले अन्तिम चरणमा पुगेको सचिव घिमिरेले बताए । उनले हिजो र अस्ति शनिवार बिदाको समयमासमेत सबै काम निरन्तर गरिएको र अहिले समेत भइरहेकोले कार्यक्रम भव्य हुने जानकारी दिए ।
पर्यटन वर्ष–२०८२ का सह–संयोजक भवेष श्रेष्ठले पर्यटन प्रवर्धनका लागि जिल्ला तथा स्थानीय तहमा पर्यटन डेस्क स्थापना पनि यही वर्ष भित्र गरेर काम गर्ने बताए । प्रदेश सरकारले पर्यटन वर्षमा कोशी प्रदेशमा ३ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।