विराटनगर,पूर्वाञ्चल विश्वविद्यालय र अमेरिकाको ईण्डियानास्थित पर्डु विश्वविद्यालयबीच अनुसन्धान, आविष्कार, सिकाइ तथा शिक्षण विधिहरूमा सहकार्य गर्ने विषयमा सम्झौता भएको छ।
सोमबार पूर्वाञ्चल विश्वविद्यालयको विराटनगरस्थित डिनको कार्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा. विजुकुमार थपलिया र पर्डु विश्वविद्यालय अमेरिकाका कार्यक्रम निर्देशक डा. रमेश न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरे। उक्त सम्झौताअनुसार दुई विश्वविद्यालयबीच प्राविधिक सहायता, प्रशासनिक सहयोग, अंग्रेजी भाषा शिक्षाको प्रवर्द्धन तथा विश्वविद्यालयको आवश्यकताअनुसार अन्य अनुसन्धानमुखी कार्यहरूमा सहकार्य गरिनेछ।
पर्डु विश्वविद्यालयका निर्देशक न्यौपानेका अनुसार सम्झौतामा उल्लेखित विषयलाई व्यवहारमा लागू गर्दै आगामी कार्यक्रमहरू सञ्चालन गरिनेछ। विशेषगरी, तीन वर्ष नेपालमा र दुई वर्ष अमेरिकामा अध्ययन गरेर पाँच वर्षमा स्नातक तथा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्न सकिने सुविधा प्रदान गरिनेछ। साथै, एक वर्ष नेपाल र एक वर्ष अमेरिकामा अध्ययन गरी दुई वर्षे स्नातकोत्तर कोर्स पूरा गरेर अमेरिकी डिग्री प्राप्त गर्न सकिने व्यवस्थाबारे थप कार्य भइरहेको छ। यसका लागि दुबै विश्वविद्यालयका पाठ्यक्रमहरूको अध्ययन गरी क्रेडिट ट्रान्सफर सम्बन्धी आवश्यक प्रावधानहरू मिलाइने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले जानकारी दिए।
यस सम्झौताका लागि काठमाडौंस्थित हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध सञ्चालक गोपीकृष्ण न्यौपानेले सहजीकरण गरेका हुन्। यो दुईपक्षीय सम्झौताले अमेरिकामा अध्ययन गर्ने विद्यार्थी तथा कर्मचारीहरूलाई नेपालमा छोटो अवधिको अध्ययन, तालिम तथा अनुसन्धान गर्न सक्ने अवसर प्रदान गर्नेछ। साथै, नेपाली विद्यार्थीहरूलाई अमेरिका गएर सोहीअनुरूप अध्ययन गर्न सक्ने मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ ।