विराटनगर : स्थानीय तहले असार १० गते नगरसभामार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था भए पनि मोरङको रतुवामाई नगरपालिकाले भने बजेट ल्याउन सकेन । अन्य १६ पालिकाले भने बजेट ल्याइसेको छन् ।
रतुवामाईले नगरप्रमुख नागेश्वर सिंहको राजनीतिक दम्भका कारण बजेट ल्याउन नसकेको हो । प्रमुख सिंहले नगरमा निर्माण हुने विषयगत समिति आफूले निर्माण गर्न नपाएको भन्दै बजेट नल्याएको बताएका हुन् । नगर प्रमुखले राजनीतिक दम्भ देखाएपछि रतुवामाइको बजेट र नीति कार्यक्रम अन्योलमा परेको छ ।
उनले कार्यपालिकाका बहुमत सदस्यको निर्णय नमानेर स्थानीय तह सञ्चालन ऐनमै नभएको व्यवस्था लागू गर्न खोजिरहेका छन् । स्थानीय तह सञ्चालन ऐन २०७४ मा कार्यपालिकाको बैठकले आफ्नो काम कारबाही व्यवस्थित गर्न आवश्यकता अनुसार कुनै सदस्यको संयोजकत्वमा समिति वा उपसमिति निर्माण गर्ने व्यवस्था छ ।

स्थानीय तह सञ्चालन सम्बन्धी ऐनमा भएको व्यवस्था
तर नगरप्रमुख सिंहले कार्यपालिकाले नभई मेयरले समिति निर्माण गर्न पाउनुपर्ने बताइरहेका छन् । सिंह नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रमुख हुन् ।
‘विषयगत समिति निर्माण गर्ने अधिकार मेयरको हो । यसमा बहुमत भनेर हुँदैन्,’ सिंहले भने, ‘ कहिलेसम्म मलाई समिति निर्माण गर्न दिइदैँन तबसम्म बजेट आउँदैन् । मलाई आफ्नै तरिकाले समिति निर्माण गर्न दिनुपर्छ । यो मेरो अधिकारको कुरा पनि हो ।’
प्रमुख सिंहले आफूलाई स्वतस्फूर्त रुपमा समिति निर्माण गर्न नदिएसम्म बजेट नल्याउने गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् ।
‘मेयर सापले राजनीतिक दम्भ देखाएर पदीय मर्यदाको समेत ख्याल गर्नुभएको छैन्,’ एक कार्यपालिका सदस्यले भने, ‘जनताबाट निर्वाचित भएर आएका नगर प्रमुख जनताका लागि भन्दा पनि आफ्नो पार्टीको हितका लागि मात्रै लागिरहनु भएको छ । यसले समग्र नगरको विकास निर्माणमा फाइदा गर्दैन ।’
ती कार्यपालिका सदस्यले नगरप्रमुख नागेश्वर सिंहले नगरपालिकालाई नेपाली काङ्ग्रेसको पार्टी कार्यालय बनाउन खोजेको आरोपसमेत लगाएका छन् । ‘नगर प्रमुख शिक्षण पेशाबाट आएको हुनाले नगरपालिकाको विकास निर्माणमा हातेमाले गरेर अघि बढ्नुहुन्छ भन्नेमा हामी आशावादी थियौँ,’ कार्यपालिका सदस्यले भने, ‘तर उहाँ कार्यकर्ताको भनाईमा लागेर नियम विपरित काम गर्न खोज्दै हुनुहुन्छ । यसलाई हामीले रोकेका मात्रै हौँ ।’