Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मिटरब्याज पीडितले सिडियो कार्यालयमै गरे आत्मदाहको प्रयास



पर्सा । पर्साको वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय (सीडीओ अफिस)मै एक मिटरब्याज पीडितले आत्मदाह गर्न खोजेका छन् ।

बाराको पचरौता नगरपालिका ४ घर भई हाल वीरगञ्ज २४, रामगढवामा बस्दै आएका करिब ६० वर्षीय बृजकिशोर प्रसाद साहले सिडियो अफिसमै आत्मदाहको प्रयास गरेका हुन् ।

न्याय नपाएको गुनासो गर्दै साहले विषादी सेवन गर्नुका साथै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे । शरिरमा आगो लगाउन खोज्दा साहलाई सशस्त्र प्रहरीले रोकेका थिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साहलाई उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको र उपचार भइरहेको बताए । उनका अनुसार साहको अवस्था खतरामुक्त रहेको छ ।

घटनास्थलमा पीडित साहले लेखेको पत्र भेटिएको छ । उनले एक लाख ५० हजार रुपैयाँ ऋण लिएको र ६ लाख मूल्य बराबरको जग्गा अरूको नाममा पास गरेको तर अहिले पैसा तिर्न खोज्दा पीडकले जग्गा फिर्ता गर्न आनाकानी गरिरहेको पत्रमा लेखेका छन् । प्रहरी पनि उनकै पक्षमा देखिएको र त्यसैले आत्मदाहको बाटो रोज्न बाध्य भएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार