Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भुकम्पबाट कोशी प्रदेशका केही घरमा क्षति, क्षति विवरण संकलन हुँदै



विराटनगर । तिब्बत केन्द्रविन्दु बनाएर बिहान गएको शक्तिशाली भूकम्पबाट कोशी प्रदेशका हिमाली जिल्लामा प्रभाव परेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सोलुखुम्बु, संखुवासभा, ओखलढुङ्गा र ताप्लेजुङमा भूकम्पले केही घर क्षति पुर्‍याएको छ ।

कोशीका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार अहिलेसम्म ६ वटा घर भत्किएको जानकारी आएको बताए । ओखलढुंगामा एक घर पूर्णरूपले क्षति पुगेको छ ।

ताप्लेजुङमा इलाका प्रहरी कार्यालय दोभानको कार्यालय प्रमुख बस्ने घरमा आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार ओखलढुङ्गाको चिसंखुगढी गाँउपालिका( ५ शिरिसेका इन्द्रबहादुर परियारको घर पूर्णरूपमा भत्किएको छ । ४ वटा घरमा आंशिक क्षति पुगेको छ ।

थुलुंङ दूधकोशीमा हर्कबहादुर खत्रीको घरमा क्षति पुगेको छ । यस्तै सोलुकै खुम्बु पासाङ्गल्यामु गाँउपालिकामा ङिमा शेर्पाको घर भत्किएको छ ।

संखुवासभाको भोटखोलामा तेन्जिङ्ग शेर्पाको घर पनि भूकम्पले भत्काएको छ । प्रहरीले क्षति पुगेका स्थानमा खोज र उद्धारको काम शुरू गरेको छ । क्षतिको अन्य विवरण संकलनको क्रममा रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार