काठमाडौं । नेकपा एमालेले पार्टीभित्र तल्लो तहसम्म गुट फैलिएको विषयमा समीक्षा गरेको छ । जारी केन्द्रीय कमिटीको बैठकमा बोल्ने नेताहरुले गुटबन्दी अन्त्य गर्नुपर्ने विषयमा जोड दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पार्टीभित्र आफ्नो स्वार्थ पूरा गर्न विभिन्न समूह बनाएर आगामी अधिवेशनमा वडा, पालिका, प्रदेश, संघमा उठ्ने तयारी गर्न ससाना समूह बनाइएको तर विचारधारात्मक र संगठनात्मक रुपमा पार्टीमा कुनै गुट नभएको उनले बताए । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लानुपर्छ । त्यसका निम्ति पार्टीको वैचारिक दिशाबाट अगाडि बढाउनुपर्छ भन्ने नेताहरुको भनाइ रहेको उनले बताए ।
पार्टीलाई सवल बनाउँदै जनतासँगको सम्बन्ध सुदृढ बनाउन वडा केन्द्रित सांगठनिक प्रस्ताव आएको उनले बताए । कार्यान्वयन गर्ने कुरामा नीतिगत रुपमा जिल्ला र प्रदेश इन्चार्जलाई निर्देशित गर्ने, जिम्मेवारी गाउँमा लिने शहरमा बस्ने त्यसको अनुगमन गर्नुपर्ने नेताहरुको सुझाव छ । नेताहरुमाथिको कारबाहीबारे सचिवालयभन्दा केन्द्रीय कमिटीमा एकमत भएको उनले दाबी गरे ।