विराटनगर २२ असोज । कोशी प्रदेशमा इलाम स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले इलाम स्वास्थ्य कार्यालयलाई कार्यसम्पादनको आधारमा प्रदेशको उत्कृष्ट कार्यालय घोषित गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय धनकुटा दोश्रो तथा जिल्ला स्वास्थ्य कार्यालय उदयपुर तेश्रो भए ।
निर्देशनालयले कोशी प्रदेशका उत्कृष्ट अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई आज सम्मानित गरेको छ । आर्थिक वर्ष २०८०–०८१ को प्रदेश स्तरीय एकिकृत वर्षिक समीक्षा गोष्ठिको समापनको अवसरमा अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्बेद कार्यालयहरुलाई सम्मानित गरिएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेको विभिन्न मापदण्डका आधारमा जिल्ला अस्पताल भोजपुर प्रथम भएको छ । उसले ८२ दशलमव ३१ अंक प्राप्त गरेको छ । ७८ दशलमव ७० अंक प्राप्त गरि तेहृथुम दोश्रो र ७६ दशलमव १२ अंक प्राप्त गरि उदयपुर तेश्रो भएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयुर्वेद कार्यालयहरु अन्र्तगत ८० दशमलव ७३ ल्याएर उदयपुर प्रथम भएको छ । धनकुटाले ७६ दशलमव ३९ दोश्रो र खोटाङले ७३ दशलमव २६ ल्याएर तेश्रो भएको छ ।
असोज २० गतेदेखि विराटनगरमा शुरु भएर आज सम्पन्न भएको एकिकृत बार्षिक समीक्षा गोष्ठिमा कोशी प्रदेशका स्वास्थ्य कार्यालयहरु, जिल्ला अस्पतालहरु र आयुर्वेद कार्यालयहरुको प्रस्तुतीकरण गरि प्रगति समीक्षा गरिएको छ । समीक्षामा आएका सुझावका आधारमा आगामी दिनमा कार्यक्रमहरु सुधार गरेर लगिने प्रदेश निर्देशक वस्नेतले बताउनुभयो ।
समीक्षा कार्यक्रममा मेची प्रादेशिक अस्पताल, कोशी अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेज, युएन एजेन्सी, एआईएन, अफिन, प्रदेश बीमा कार्यालयको पनि प्रगति प्रस्तुतीकरण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी मुकुन्द दाहालले जानकारी दिनुभयो ।