विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने ८ जना बेपत्ता रहेका छन् ।
तीन दिनयताको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी सबैभन्दा धेरै पाँचथर र सोलुखुम्बुमा ५/ ५जनाको मृत्यु भएको छ । धनकुटामा २ तथा इलाम, उदयपुर र सुनसरीमा १ / १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले बताउनुभयो ।
इलामको फिदिम नगरपालिका–४ चिसापानीमा आदिवासी जनजाति महासंघको ट्रस्ट भत्किँदा २४ वर्षीया फिदिम १२ घर भइ फिदिम ४ मा डेरा गरी बस्दै आएकी सपना शेर्पा र ६ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको छ । यसै गरी फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर फुरुङ्गा हाइड्रोपावरमा कार्यरत ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको छ ।
फिदिम–८ भोटे गाउँँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको छ । घरनजिकको धारामा पानी लिन गएको बेला उनको माथिबाट आएको पहिरोले पुरिएर मृत्यु भएको हो । फिदिम–२ मजिटेमा पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको घटनास्थलमै मत्यु भएको प्रहरीले जनाएको छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड १० का टेकबहादुर मगरको घर पहिरोले पुरिँदा मगरकी छोरी कबिता र ४१ वर्षीया बुहारी रुपाको मृत्यु भएको छ । सोलुखुम्बुमा मृत्यु हुने ३ जनाको पहिचान खुलेको छैन । सुनसरीमा मृत्यु हुनेको पनि पहिचान खुलेको छैन ।
त्यस्तै, धनकुटाको पाख्रिबास नगरपालिका–५ की ३२ वर्षीया आशा तामाङ र उनी आमा ५० वर्षीया रामुकुमारी तामाङको मृत्यु भएको छ । पहिरोले घर पुरिदाँ उनीहरुको मृत्यु भएको हो ।
उदयपुरको रौतामाई गाउँपालिका– १ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । घाँस काटेर फर्किदा खोला तर्ने क्रममा बाढीले बगाउँदा उनको मृत्यु भएको हो ।
इलामको माई नगरपालिका–८ सेता खोलाले बगाएर ६८ वर्षीय मइतबहादुर लिम्बु मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर घाइते भएका भएका लिम्बुको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
यता बाढी र पहिरोमा परेर सबैभन्दा धेरै पाँचथरमा ४ जना बेपत्ता भएका छन् । फिदिम–१ का राजकुमार नेम्वाङको घरमा डेरा लिएर बस्ने उनीहरु सबै जनाले फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएको प्रहरीले जनाएको छ । झापामा २ जना र मोरङमा दुई जना बेपत्ता भएका छन् ।
बाढी र पहिरोमा परेर ४ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । धनकुटामा २ तथा ओखलढुंगा र पाँचथरमा १/ १ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।