Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

जोशीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश



पोखरा । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीले ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद गरेको हो । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा जोशी संलग्न रहेको भन्दै प्रहरीले हिजो उनलाई पक्राउ गरी पोखरा लगेको थियो । हिजो नै पक्राउ पुर्जी जारी गरेर प्रक्राउ गरी जिल्ला अदालत कास्कीमा आज उपस्थित गराइएको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको छ ।

त्यही सिफारिसका आधारमा जोशीलाई पक्राउ गरिएको हो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रूपैयाँ गएको देखिएको छ ।

त्यही गोर्खा मिडियाविरूद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा ल्याइएको हो । पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रालिसहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । पीडितको जाहेरीलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो ।

जोशीलाई म्याद थपका अदालतमा उपस्थित गराउँदा खबरदारीका लागि सहकारी पीडित पनि अदालत प्रागण पुगेका थिए । त्यसअघि पीडितले रवि लामिछानेलाई पनि पक्राउ गरी अनुसन्धानमा ल्याउन जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार