विराटनगर : प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण भएको जिल्ला हो, उदयपुर । महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्रभित्र विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उदयपुर जिल्ला अवस्थित रहेको छ ।
जिल्लामा भित्री मधेसअन्तर्गत पर्ने ठाउँमा उच्च गर्मी तथा बाह्रै महिना चिसो हुने अग्ला–अग्ला पहाड डाँडाहरू भएका विविध ठाउँ छन् । जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलो मिटर रहेको छ ।
जिल्लाको सिमानामा पूर्वमा सुनसरी र धनकुटा जिल्लाको केही भाग, पश्चिममा सिन्धुली र धनुषाको केही भाग, उत्तरमा भोजपुर तथा खोटाङ र अोखलढुङ्गाको केही भाग, दक्षिणमा सिराहा र सप्तरी जिल्ला रहेको छ । यसरी उदयपुरको सिमानामा ९ जिल्ला पर्दछन्, जुन नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लाको दोस्रो स्थानमा पर्दछ । धेरै जिल्लासँग सिमा जोडिएको पहिलो जिल्ला सिन्धुली हो ।
भौगोलिक विविधताले सम्पन्न जिल्लाका ८ वटै स्थानीय तहहरूमा पर्यटकलाई आकर्षित गर्ने फरकफरक किसिमका गन्तव्य छन् । कोरोना भाइरसको महामारीले थलिएका उदयपुरका पर्यटकीय क्षेत्रहरु विस्तारै माथि उठ्न थालेका छन् ।
रौता पोखरी
धार्मिक आस्थाको केन्द्र बोकेको पर्यटकीय स्थल रौतापोखरी रौतामाई गाउँपालिकामा पर्दछ । कोभिड–१९ को कारण झण्डै दुई वर्षसम्म पर्यटकविहीन बनेको जिल्लाको पर्यटकीयस्थल रौतापोखरी क्षेत्रमा अहिले पर्यटक आगमन बढेको छ ।
समुद्र सतहबाट २००० मिटरको उचाइको पहाडी क्षेत्रमा रहेको रौता क्षेत्रबाट सगरमाथा, आमादब्लाम, ल्होत्से, चोयु, कञ्चनजङ्घा, अरुणबरुण क्षेत्रसहित आठवटा हिमशृङ्खला प्रष्ट देख्न सकिन्छ । रौतामाई क्षेत्रमा मुख्य गरी पूर्वी नेपालका पर्यटकहरु आउने गरेका छन् । खासगरी यस क्षेत्रमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, सर्लाही, सिन्धुली लगायतका जिल्लाका पर्यटकहरु धेरै आउने गरेका छन् ।
बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने रौतापोखरीबाट चारैतिर हरियाली वनजंगल र ठुलाठुला हिम श्रृङ्खला देखिने दृश्यले घुम्न आउने पर्यटकहरुको मन लोभ्याउँछ । रौतामा खानका लागि पर्यटकहरुलाई स्थानीय उत्पादन कोदो, मकै, फापरको ढिँडो, धान, सिस्नु, साग, स्थानीय जातको कुखुरा, दाल, गुन्द्रुकको अचारजस्ता परिकार पाइन्छ ।

उदयपुरको धार्मिक आस्था बोकेको रौता पोखरी
त्रिवेणी मेला
उदयपुरको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणी धाममा माघे संक्रान्तिको अवसरमा त्रिवेणी मेला लाग्ने गर्दछ । प्रदेश नं १ कै महत्वपूर्ण धामका रूपमा यस धामलाई लिइन्छ । प्रत्येक वर्ष माघे संक्रान्तिका समयमा त्रिवेणी धाममा छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा र बारासहित सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गासहित सुनसरी, मोरङ र झापाबाट समेत ठूलो सङ्ख्यामा भक्तजन मकर नुहाउन आउने गर्दछन् ।
कमला नदी र तावा खोलाको सङ्गमस्थलका रूपमा रहेको त्रिवेणी धामको पानीले नुहाउँदा शरीरमा रहेको विभिन्न चर्मरोग निको हुने र पूजा तथा आरधना गर्दा चिताएको कुरा पुग्नेसमेत जनविश्वास भएको पाइन्छ । अन्य समयमा पनि यहाँ विभिन्न स्थानबाट पुजापाठ गर्न मानिसहरु आउने गर्दछन् ।

माघे संक्रान्तिको दिन कटारीमा लागेको त्रिवेणी मेला
उदयपुर गढी
उदयपुर गढी क्षेत्रमा पञ्चावती माई मन्दिर, गणेश स्थान तथा ऐतिहासिक ढुंगे स्मारकजस्ता पर्यटकीय आकर्षणका सम्पदा छन् । जसले गर्दा पर्यटकको मन लोभ्याउँछ ।
ऐतिहासिक रहेको यो गढी सरकारी बेवस्ताका कारण लामो समयसम्म ओझेलमा परेको थियो । संरक्षण अभावका कारण प्रदेश एकको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको गढीको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक र धार्मिक सम्पदाहरु जिर्ण बन्दै गएका थिए ।
ग्त वर्ष सडक सञ्जालले उदयपुर गढी जोडिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थालेका छन् ।

ऐतिहासिक उदयपुर गढी
ताप्ली पोखरी
उदयपुरको पश्चिमी क्षेत्रमा पर्ने ताप्ली गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो ताप्ली पोखरी । ताप्ली पोखरीमा बाह्यभन्दा आन्तरिक पर्यटक बढीजसो आउने गरेका छन् ।
ताप्ली पोखरीमा प्रत्येक नयाँ वर्षको दिन मेला समेत लाग्ने गरेको छ ।
उदयपुरको एक प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टाको यात्रामा पुगिने उत्तरको डाँडा ताप्ली गाउँपालिका– २ ताप्ली पोखरी वा रानी पोखरीको नामले प्रख्यात रहेको छ । यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ ।
ताप्ली पञ्चकन्यादेवीको भाकल गरेर पूजाआराधाना गरे चिताएको पुग्ने जनविश्वास छ । ताप्ली क्षेत्रबाट दूधकोशी, सुनकोशी, पहाडी जिल्ला सोलुखुम्बु, ओखलढुङगा, सिन्धुलीसहित तराईका सिरहा, धनुषालगायतको अवलोकन गर्न सकिन्छ । उत्तरी क्षेत्रका मनोरम हिमशृङ्खलाको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

ताप्ली गाउँपालिकामा रहेको ताप्ली पोखरी
चौदण्डी गढी दरबार
चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित चौदण्डीगढी दरबार उदयपुर जिल्लाको एउटा महन्वपूर्ण पर्यटकीय गन्तव्य हो । सडक सञ्जालले जोडिए पनि विद्युत र खानेपानी जस्ता पूर्वाधारको समस्या यहाँ छ ।
सेन राजाहरुको दरबारको भग्नावशेष तथा बिसासय कूल देवीको मन्दिरको जीर्णोद्धार गरेर सुरक्षित घेरबार गरी पुरातात्विक महत्वका वस्तुको संरक्षणका लागि नगरपालिकाले काम थालिसकेको छ । चौदण्डी घुम्न आउने पर्यटकका लागि गेष्टहाउस तथा होटल प्रसस्तै पाइन्छ ।
चौदण्डीगढी १८२६ देखि उदयसेन, लोहाङ सेन र हेमदत्त सेनजस्ता सेनवंशी राजाले राज्य गरेको ऐतिहासिक थलोका रुपमा चिनिन्छ ।

चौदण्डी गढी दरबार
बेतेनी भञ्ज्याङ
कटारी नगरपालिकामा पर्ने बेतेनी भञ्ज्याङ् पनि पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित हुदँै आएको छ ।
एकैछिनमा घाम लाग्ने र छिनमै हुँस्सु लाग्ने र अग्लो डाडाँ अनि चारैतिर हरियाली, छिनछिनमा हुने मौसम परिवर्तन बेतेनी भञ्ज्याङ्को मुख्य बिशेषता हो । उदयपुरको दास्रो ठुलो शहर कटारी बजारदेखि बेतेनी करिब १६ किलोमिटर उत्तरमा पर्दछ ।
पश्चिम, दक्षिणी क्षेत्रमा भीर र उत्तरपूर्वी क्षेत्रमा पहाडी भू–भागको पाखोवारीले घेरेको यस भञ्ज्याङ पूर्वको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो ।

बेतेनी भञ्ज्याङमा रहेको मन्दिर
चतरा–सिम्ले जेटबोट
सप्तकोशीमा चतरा–सिम्ले जेटबोट सञ्चालनमा आएपछि यो क्षेत्र एउटा आकर्षक पर्यटकीयस्थल बनेको छ । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गमस्थल सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ ।

सप्तकोशी नदीमा चल्ने जेटबोट
एभरेष्ट भ्यू टप
विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ वटा हिमाल आँखै अगाडिबाट नियाल्न सकिने लिम्चुङबुङको ‘एभरेष्ट भ्यू टप’ पनि उदयपुरको पर्यटकीय गन्तव्य हो ।
यहाँ घुम्नका लागि ईलाम, मोरङ, झापा, सुनसरी, सिराहा, सप्तरीका साथै जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु उल्लेखनिय उपस्थिति हुने गरेको पाइन्छ ।

सगरमाथाको दृश्यावोलोकन गर्न बनाइएको एभरेष्ट भ्यू टप
साथै ऐतिहासिक महत्व बोकेको उदयपुरकै सबैभन्दा अग्लो भालेबास डाँडा, अँधेरी झरना, कोलोहाङ र वासिराङ झर्ना, वासिराङ दह, भूतिया तह, बालबाटिका बगैंचा, टंकेला गुफा, बेलका हाइट, महांकाल मन्दिर, कोशी टप्पु, सप्तकोशी नदी, ऐतिहासिक मैनाराजा मैनारानी लगायतका पर्यटकीयस्थलहरू छन् ।