कलिलो उमेर, केही सिम्फोनी यादहरू सम्झन योग्य छन् । अक्षरभन्दा धेरै जीवन चिन्ने बेला रहेछ त्यो उमेर । भोजपुरको साङ्पाङ लक्ष्मी प्रा.वि. मालबाँसेमा सायद तीन कक्षामा पढ्थेँ होला । अलिअलि याद छ । दाजुहरू किताबको खात बोकेर स्कुल जानुहुन्थ्यो । मलाई आफू भने फगत दुइटा किताब बोकेर स्कुल जानुपर्दा खुब नमज्जा लाग्थ्यो । कहिले ४ कक्षामा पुग्नु र उस्तै अग्लो किताबको खात बोकेर स्कुल जानु होला भन्ने उत्सुकताले खुब हुटहुटी लाग्थ्यो ।
सानैउमेरदेखि सोचेको कुरा जसरी पनि गर्नै पर्ने, भनेको कुरा हुनै पर्ने, जिद्दी बानी लाग्यो । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ एक दिन ठूलोबुबाको किताब राख्ने खोपा खानतलासी गरे । थुप्रै किताबहरूको बिच एउटा रातो रङ्को हार्ड कभर भएको मोटो किताब भेटे । जो मेरो ठूलोबुबाले तीन पत्र फरक फरक तिनै रङको रुमालले जतनले बाँधेर राख्नुभएको थियो । बिस्तारै तिन वटै रुमाल खोले । नयाँ किताब भेटेँ । किताब मैले चाहेको जस्तै मोटो पनि थियो । ठूलोबुबाले थाहा पाए गाली गर्नुहोला भनेर उक्त किताब उहाँको आँखा छलेर झोलामा हालेर स्कुल हिँडे ।
घरदेखि अलि तल बाटोमा पुगेपछि मेरो नेपाली किताब र गणित किताबको बिचमा त्यो किताब राखेँ र फुरुङ्ग पर्दै हिँडे।
म स्कुल पुग्दा ४÷५ जना विद्यार्थी र हेडसर मात्र आइपुग्नु भएको थियो । साथीहरूले त मेरो उत्साहको यो रङ्ग खासै ठम्याउन सकेनन् । तर हेडसर अर्थात् हर्क सरले निकै बेर मेरो किताबको चाङ नियाल्नुभयो । मैले झन् ठुलै सफलता मिलेजस्तो अनुभव गरे । तैँले आज कुन किताब ल्याइस् ? यो कसको किताब ? यो पनि पढ्छेस् ? हर्क सरले धारा प्रवाह प्रश्न सुरु गर्नुभयो । यति मात्र होइन सरले त मेरो हातबाट किताब तान्नुभयो । ठुलो कक्षाका विद्यार्थीले जस्तो अग्लो किताबको चाङ सबै साथीहरूलाई देखाउन् भन्ने कत्रो ठुलो सपना छिनमै भताभुङ्ग भयो । अर्कोतिर घरमा हजुरआमा र ठूलोबुबाले थाहा पाएर गाली गर्नुहोला भन्ने झन् ठुलो चिन्ताले थप गाह्रो बनायो ।
हेड सरले एक छिनमा दिनुहोला दिनुहोला भन्दै आशा गरे । किताब फिर्ता गर्नुभएन । चार बज्यो । स्कुल छुट्टी भयो । मेरो उदासीनता बढ्दै गरेको न साथीहरूले बुझे न हेडसरले । घण्टी लाग्यो । आखिर घर त जसरी पनि जानु नै थियो । निराशा र डरको बडेमान पहाड बोकेर घर पुगे । हजुरआमा र ठूलोबुबाको नजिक पुग्ने आँट भएन । हाम्रो घरको मतानमुनि ढिकी थियो । त्यही ढिकीको छेउमा गएर बसे । हजुरआमाले खाजा खाने बेला नातिनी हराएकी भन्दै खोजी गरिरहेको म सुन्दै गर्थेँ । यत्तिकैमा ठूलोबुबा मलाई खोज्न आउनुभयो । छोराछोरीप्रति आमाबाबुको प्रेम कतिसम्म हुने, उहाँहरूलाई त लागेछ, स्कुलमा सरले कुटेर पो म उदास भएकी भनेर । म सानै उमेरदेखि सत्य लुकाउन नसक्ने केटी रहेछु । त्यसैले त ठूलोबुबाले कुरा उठान गर्न नपाउँदै मैले हेडसर हर्कराज राईले आफूले स्कुल लगेको पुस्तक लिएको कुरा जस्ताको तस्तै सुनाएँ । ह्या ! मेरी छोरी यस्तो सामान्य कुरामा पनि डराएर बस्ने हो त? भोलि हेडसरलाई भेटेर म ल्याउँला किताब ।
ठूलोबुबाले सहजै यति भनेपछि मलाई अरू के चाहियो र । मैले सोचेको थिएँ कि, यो कुरा सुनेर ठूलोबुबा बेस्सरी रिसाउनुहुन्छ । तर, उहाँको प्रतिक्रिया फरक पाएपछि मभित्रको डरको आयतन एकाएक सामान्य भयो । त्यस बेलासम्म हेडसर स्कुलमै देखिनुहुन्थ्यो । म हतारमा खाजा खाएर दौडेर स्कुल गएँ । हेडसरलाई किताब मागेर सरासर घर फर्केँ ।
त्यसो त ठूलोबुबाले बेलाबखत त्यस पुस्तकमा लेखिएका तलका यी श्लोकहरू मुखाग्र सुनाएको मलाई आज पनि याद छ ।
एक दिन नारद सत्यलोक् पुगी गया लोकको गरूँ हित भनी।
ब्रह्मा ताइँ थिया पर्या चरणमा खुसी गराया पनि।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भये थ्यो जसै।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै।।।
साँचो बात गरैन कोही अरूकै गर्नन् त निन्दा पनि।
अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी।।
कोही जन त परस्त्रीमा रत हुन्न कोही त हिंसा महाँ।
देहैलाई त आत्म जानी रहेनन् नास्तिक पशु झैँ त्यहाँ।।।
‘एक पटक तेरो ठूलोबुबा नुन तेल किन्न धरान गएको थियो । ढाकरभरि सुन्तला बोकेर । त्यस पटक सुन्तलाको खासै भाउ थिएन । एक ढाकर सुन्तला बेचेको पैसा बोकेर उ पुस्तक किताब पसल गएछ । अरुबेला पनि किताब पढ्न औधी मन गर्ने उसको आँखा रामायण पुस्तकमा परेछ । भर्खरै सुन्तला बेचेर गोजीमा राखेको भए जति पैसा रामायणको दाममा परेछ । त्यसपछि रित्तो ढाकरभित्र रातो गाता भएको रामायण बोकेर उ घर फर्केछ । सँगै गएका साथीहरू ढाकरमा छाँद हालेर वर्षभरि पुग्ने नुन तेल लिएर घर फर्के । तेरो ठूलोबुबाको एक ढाकर सुन्तलाको कमाइ यही किताब हो नानी ! तेरो हजुरबुबा मलाई छोडेर जाँदा ठूलोबुबा ६ वर्षको र तेरो बाबु बर्सीको थिए । गाह्रो थियो हुर्काउन’ मैले स्कुलबाट फिर्ता ल्याएको रामायणका पाना एक हातले पल्टाउँदै मलाई काखमा राखेर अर्को हातले मेरो कपाल सुमसुम्याइँदै आँखाभरि आँसु पारेर हजुरआमाले भन्नुभयो ।
‘सँगै धरान गएका गाउँका साथीले सुन्तला बेचेर नुन ल्याए । तेरो ठूलोबुबाले रामायण ल्यायो।यो देखेर बाटा भरी साथीहरूले जिस्क्याए छन् । नुनको साटो तरकारीमा रामायण नै हाल्नु भनेर,’ हजुरआमाले थप्दै जानुभयो ।
पुस्तकको बारे नयाँ नयाँ रहस्य । त्यसपछि झन् प्रेम बढ्यो रामायणप्रति मेरो । त्यति मात्र होइन रामायण मेरो जीवनको पठन संस्कारको गुरु पनि हो । उही रामायण पढेपछि मलाई पुस्तक पढ्ने लत परेकाको आजसम्म लतमै छु । प्रेमिल लत ।