विराटनगर : कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ । तीमध्ये ७ जना एकै परिवारका हुन् ।
पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । बिहीबार राति खसेको पहिरोमा पुरिएर पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियारका परिवारका ७ जनाको मृत्यु भएको हो ।
पहिरोमा परी उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
शर्माका अनुसार मृतकमध्ये प्रभा चितवनबाट श्रीमान् अस्मितसँगै माइत आएकी थिइन् । छिमेकी राधिका परियारको भने पहिरोमा पुरिएकाको उद्धारमा खटिएकै क्रममा पुरिएर मृत्यु भएको थियो ।
यस्तै पोखरा–३२ चैनपुरमा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । स्थानीय आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको मृत्यु भएको प्रवक्ता शर्माले बताए ।
यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर वेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।
सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।