विराटनगर : आज असार २४ । कम्युनिस्ट राजनीति त्यसमा पनि नेकपा एमालेका लागि आजको दिन खास हो । किनकि ७३ वर्षअघि आजकै दिन जननेता मदनकुमार भण्डारीको जन्म भएको थियोे । मदन भण्डारीको जन्म जयन्तीका अवसरमा एमालेले आज देशैभर विभिन्न कार्यक्रमको आयोजना गर्यो ।
भण्डारीका नाममा देशभर विभित्र कार्यक्रम भए पनि उनको घर भएको र तत्कालीन माले (अहिले एमाले) स्थापना भएको ठाउँमा भने केही कार्यक्रम भएन ।

उनको घर मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० मा छ । देशभर भण्डारीको जन्म जयन्ती मनाइरहँदा मदनग्राम (भण्डारीको घर) भने आफ्ना पार्टीका नेता कार्यकर्ता पर्खिरहेको थियोे ।
२०३५ को दशकतिर यहीँ क्षेत्रबाट भण्डारीले देशभर हुने आन्दोलनको योजना बनाउथे । त्यसबेला अहिले राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेताहरू यो ठाउँमा कयौंपटक आए । मदनबाट प्रशिक्षित भए ।
मदन भण्डारीले नेकपा मालेलाई पञ्चायतको अन्त्य नहुँदै संशोधनवादी लाइनमा लगेका थिए। तत्कालीन मालेका महासचिव भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लोकप्रिय बन्यो। यही सिद्धान्तलाई पछ्याएर एमाले धेरैपटक सत्तामा पुगेको इतिहास छ । तर, भण्डारीको मार्गदर्शनलाई पछ्याएपनि यो क्षेत्र कम्युनिष्ट नेताहरूको नजरमा कहिल्यै परेन।
एमालेका केन्द्रीय स्तरका नेताहरू महिनै पिच्छे मोरङ आउँछन्। उनीहरू विराटनगरबाटै फर्किन्छन् तर इटहरा कहिल्यै पुग्दैनन्। पुग्नु त परैकाे कुरा भयाे, नामसमेत लिदैँनन्।

बिहीबार मात्रै एमाले महासचिव शंकर पोखरेल उर्लाबारी पुगे । मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मदन भण्डारी प्रतिस्ठान उर्लाबारी पुगेका पोखरेललाई मदनग्रामको कुनै सम्झना आएन ।
उर्लाबारीबाट करिब १२ किलोमिटर दक्षिणीमा भण्डारीको घर छ ।
मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी दुईपटक देशको राष्ट्रपतिसमेत भइन्। तर आफू र आफ्नो पतिको इतिहाससँग जोडिएको स्थललाई खासै चासो गरिनन्।
कम्युनिष्ट पार्टीको मूल प्रवाह–तत्कालीन नेकपा मालेको जन्मस्थल नेताहरूबाट अपहेलीत हुनु दुखद् भएको स्थानीय अग्रज बामपन्थी नेताहरूको भनाई छ।

वि.स. २०३५ सालमा कोकेको राष्ट्रिय सम्मेलनबाट नेकपा मालेको स्थापना भयो। २५ जना प्रतिनिधिको सहभागितामा ५ दिनसम्म चलेको सम्मेलनले सिपी मैनालीको नेतृत्वमा उक्त पार्टी गठन गरेको थियो। ११ जनाको केन्द्रीय कमिटीमा ३ सदस्यीय पोलिट्ब्यूरो गठन गरिएको थियो। महासचिव मैनालीसहित जीवराज आश्रित र माधव नेपाल पोलिट्ब्यूरोमा थिए।
केन्द्रीय कमिटीमा मदन भण्डारी, रत्नकुमार वान्तवा, मोदनाथ प्रश्रित, ईश्वर पोखरेललगायतका नेताहरू थिए। त्यस समयमा केपी ओली, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरू जेलमा थिए। झलनाथ खनाल जेलबाट छुटेपछि केन्द्रीय कमिटीमा ल्याइएको थियो।
चिनियाँ नेता माओत्से तुङको जन्म दिवस पारेर डिसेम्बर २६ अर्थात् पुस ११ गतेका दिन माले पार्टीको घोषण गरिएको थियो।
नेकपा माले ‘गणतन्त्रवादी क्रान्तिकारी’ पार्टी थियो। तर, यो पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा उतार्ने ‘संशोधनवादी धार’ मा ल्याउने मदन भण्डारी थिए। उनले पार्टीमा चुनावी प्रतिस्पर्धाको लाइन पारित गराएपछि नै मनमोहन अधिकारीको पार्टी नेकपा मार्क्सवादीसँग एकता गरी एमाले बनाउन सम्भव भएको थियो।
