विराटनगर : पछिल्लो समय हप्तैपिच्छे नेपाल आयल निगमले पेट्रोल, डिजललगायत इन्धनमा गरेको चर्को मूल्यवृद्धिविरुद्ध विराटनगरमा विरोध गरिएको छ ।
सोमबार कोशी राजमार्गअन्तर्गत विराटनगरको राजवशी चोकमा सडकमा सवारी साधनले चक्काजाम गरेर यातायात अवरुद्ध पारेका छन् ।
हरेक हप्ता पेट्रोलियम पदार्थको मूल्यवृद्धिले प्रत्यक्ष रुपमा सबै जनता र यातायात व्यवसायीलाई असर गरिरहेकाले मूल्यवृद्धिको विरुद्धमा चक्काजाम गरेको उनीहरूले बताएका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले यातायात, खाद्यवस्तु, दैनिक उपभोग्य एवं सबै प्रकारका वस्तुको मूल्य बढेको भन्दै यसमा गम्भीर भई मूल्यवृद्धि फिर्ता गराउन पनि सरकारसँग यातायात व्यवसायीहरुले माग गरेका छन् ।
सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागु हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।