विराटनगर : विद्यालयको हिसाब खोजी गर्दा शिक्षिकामाथि कुटपिट भएको छ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविका शिक्षिका गोमा कार्कीमाथि विद्यालयका प्रधानाध्यापक लक्ष्मी पौडेलबाट हातपात भएको हो ।
शिक्षिका कार्कीले विद्यालयको आर्थिक पारदर्शीताको विषयमा कुरा उठान गरेपछि सामान्य विवाद भएको थियोे । विवाद बढ्दै गएपछि प्रधानाध्यापक पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यवस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी शिक्षिका गोमा कार्की ।
प्रअले लात्ताले हान्दा कार्कीको पानीपेटमा लागेको थियोे । स्वास्थ्यमा गम्भीर समस्या निम्तिएपछि उनलाई जिल्ला अस्पताल दिक्तेल लगिएको थियोे । निरन्तर पेट दुख्ने र पिसाव नरोकिने समस्या देखिएपछि कार्कीलाई दिक्तेलले शनिबार नोवेल अस्पताल विराटनगर रिफर गरेको अस्पतालले जनाएको छ ।
विद्यालयको पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको १५ हजार, मसलन्दको १५ हजार, अडिटको १० हजार, मर्मतको नौ हजार, छात्रवृत्तिको चार हजार आठ सय, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार पाँच सय ९६ सहित एक लाख ३२ हजार नौ सय ३१ को आयव्यायका विषयमा जिज्ञासा राख्दा आफूमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताइन् ।

साक्षरता प्राविको भवन
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सकुन्तला खत्रीले घटनाबारे विवाद भएको स्वीकार गरिन् । ‘यो भन्दा अघिको बैठकमा पनि उहाँहरूबीचमा आर्थिक हिसाबको विषयमा विवाद भएको रहेछ,’ खत्रीले भनिन् ।
प्रअ पौडेलविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले अनुसन्धान सुरु गरेको जनाएको छ ।