विराटनगर : कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । शुक्रबार दिउँसो हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारीमाथि गोली प्रहार भएको हो ।
परीक्षा दिएर घर फर्कने क्रममा अधिकारीमाथि गोली प्रहार भएको झापा प्रहरीले जनाएको छ । उनलाई सिराहाका अमितकुमार यादवले प्रहार गरेको बताइएको छ ।
प्रहरीका अनुसार यादव फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
उदयपुर घर भएकी अधिकारी दमकमा डेरा गरी बस्दै आएकी थिइन् ।
गोली लागेर घाइते भएकी उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । उनको पेटमा गोली लागेको थियो । गोली भने चिकित्सकले निकालिसकेका छन् ।
घटनाबारे प्रहरीले थप अनुसन्धान तीव्र बनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।