Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कैलालीको गेटामा तत्काल स्वास्थ्य प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको घोषणा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा तत्काल स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन्।उनले तत्कालै विधेयक ल्याएर प्रतिष्ठानको प्रकृया अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।

शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमबासीको चाहाना र माग अनुसार गेटामा भौतिकरूपमा निर्माण सम्पन्न भएको प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताका हुन्। उनले भने, ‘गेटाका बारेमा काम त अगाडि बढाई नै रहेका थियौँ, सबै सुदूरपश्चिमेलीको चाहाना अनुसार चाँडै प्रतिष्ठान बनाउँछौँ।’

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि आफू प्रयासरत रहेको बताए। उनले भने,‘देश संघियतामा मात्र होईन विकेन्द्रीकरणमा पनि गैसकेको छ, अब तिनै तहका सरकार मिलेर विकास गर्नुपर्छ।’ उनले संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढे धेरै कुरा गर्न सकिने बताए।

प्रधानमन्त्री देउवाले कैलालीमा डुवान, कटान लगायतका समस्या रहेको र यसलाई समाधान गर्न अतिक्रमण रोक्नु पर्ने बताए। उनले भने,‘धनगढी एकदमै सुन्दर ठाउँ छ, यसलाई अझै सुन्दर र व्यवस्थित बनाउन अहिले भइरहेको अतिक्रमण रोक्नुस्, यसमा संघ सरकारको पूर्ण सहयोग रहने छ।’ प्रधानमन्त्री देउवाले कर्मचारीहरू प्रदेश तहमा आउन नमान्दा कामगर्न केही समस्या भएको बताउँदै अब प्रदेशमा आउने कर्मचारीलाई सहुलीयत दिने नीति ल्याउनुपर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार