विराटनगर : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भएको छ । मंगलबार दिउँसो भोक्राहा ३ शिवगञ्जको शिशौ टोलमा भीषण आगलागी हुँदा १५ घर जलेर नष्ट भएका हुन् ।
स्थानीय रामदेव मेहताको परालबाट फैलिएको आगोले १५ घरमा क्षति पुर्याएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार आगलागीमा रामदेव मेहताको दुई वटा घर सहित स्थानीय ७ परिवारको १५ घर जलेर नष्ट भएको छ ।
भण्डारीले आगलागीमा खाद्यान्न, लत्ताकपडा र नगदसहित गरी ५० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए । आगोबाट भएको क्षतिको थप विवरण सङ्कलनको कार्य भइरहेको समेत भण्डारीले जानकारी दिए ।
आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र कोशी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, रामधुनी र इनरुवा नगरपालिका तथा इटहरी उपमहानगरपालिका सहितका सात वटा दमकल परिचालन गरेको थियो । आगलागीमा एक जना बालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।