केही सिमित भ्रष्ट कर्मचारीले अड्डाले जमाएको रतुवामाई नगरपालिकाको कर्तुत हालैका दिनमा सार्वजनिक भएको छ । मेयर र उपमेयरलाई नगरभित्रका समस्या र तिनको समाधान गरी नगरपालिकालाई गतिशील र चलायामान बनाउने ज्ञान नहुँदा नगरवासी विकासको पदचापबाट टाढै छोडिएका छन् ।
सरकारी गाडीमा गाडी चढ्नु, नमस्कार खानु र औपचारिक कार्यक्रममा अतिथि भएर सहभागी हुनु नै मेयर उममेयरको जिम्मेवारी ठान्ने हाम्रा मेयर र उपमेयरबाट नगरमा विकासको सपना देख्नु नै आफैँमा लज्जास्पद छ । सोही मेसोमा खोला बगरमा गाडिएको अवस्थामा मलखाद र विऊविजन भेटिएपछि यतिवेला आम नगरवासी तीन छक्क पर्नुका साथै जनप्रतिनिधि र कर्मचारीको रवैयाप्रति क्रोधित भएका छन् ।
वितेका केहीदिनयता मेयर, उपमेयर र कर्मचारीविरूद्ध नगरवासी आन्दोलित छन् । केही निजी स्वार्थ र कमिसनमा लिप्त कर्मचारीका कारण बबुरा मेयरले सार्वजनिक रूपमा नगरवासीलाई चित्त बुझ्दो जवाफ दिन सकेका छैनन् । काम गर्नलाई उमेरले छेक्दैन । यो कुरामा पंक्तिकार विश्वस्त छ । तर, इच्छा र ज्ञान बिनाका जनप्रतिधि हुँदा नगरवासी दुर्दशाको दलदलमा छन् ।
मोरङ्गको सुदूर पूर्व र दक्षिणी भेगमा रहेको रतुवामाई नगरपालिका जिल्लाका अरू १६ ओटा स्थानीय तह भन्दा विकासमा सबैभन्दा पछाडि छ । नगरपालिका भित्र कहीँकतै आगलागीका घटना भएकामा अर्को स्थानीय तहबाट दमकल बोलाउनुपर्ने अवस्था छ । मेयर रविन राईले १ करोड रुपियाँमा काम नलाग्ने सार्वजनिक शौचालय बनाएर आहत भएका नगरवासी किसानसँग प्रत्यक्ष जोडिएको मलखाद र विऊविजन गाडिएको घटनाले सबैभन्दा बढी दुखी र आक्रोशित भएका छन् ।
नगरपालिकामा ९९ प्रतिशत किसानको वसोवास छ । त्यसमध्ये धेरै निरपेक्ष गरिबीको रेखामुनि छन् । मेयर, उपमेयरको कमजोरीका कारण नगरका केही सिमित र कामचोर प्रवृत्तिका कर्मचारीले गर्दा नगरवासीले स्थानीय सरकारको प्रत्याभूति गर्न पाएका छैनन् ।
किसानका लागि भनेर उपलब्ध भएको मलखाद, विऊविजन, चामल, दाल, औषधिलगायतका सामग्री उपभोग्य मिति बाँकी नै रहेको अवस्थामा खोला बगरमा गाडिएको भेटिनुले नगरपालिकाभित्रका कर्मचारीका मनोभाव र कार्यशैली छर्लङ्ग भएको छ ।
पाका उमेरका मेयर र सुस्त उपमेयरको फाइदा कृषि शाखाका कर्मचारी नरहरि निरौला र लेखा प्रमुखले उठाउँदा अब अख्तियार सम्वेदनशील र जिम्मेवार हुनुपर्ने अवस्था आएको छ । वार्षिक झण्डै करोड रुपियाँ पनि राजश्व आय नहुने नगरपालिकाले लाखौँ मूल्यका सामग्री बगरमा गाडेपछि को जिम्मेवार भन्ने प्रश्न उब्जिएको छ । नगरवासीले किसानलाई दिनुपर्ने सामग्री, खोलामा किन गाड्नु भयो भन्ने प्रश्नमा मेयरले थाहा छैन भन्ने जवाफ दिनुले नगरवासीका नौनाडी गलेका छन् । मुख्य जिम्मेवार व्यक्तिले केटाकेटीले झै थाहा छैन र कर्मचारीको कुरा म जान्दिन भन्नु सबैभन्दा लाजको विषय हो । जनताको सेवा गर्छु र नगरवासीलाई अभिभावकत्व प्रदान गर्छु भन्नुपर्ने मेयरले मलाई थाहा छैन भन्दा नगरवासीलाई अफ्ठयारो लागेको छ ।
केही सिमित र भ्रष्ट कर्मचारीका कारण नगरवासीका लागि आएको अनुदान बगरमा गाड्नु पर्ने अवस्थाले रतुवामाई नगरपालिका सुशासनप्रति कति सम्वेदनशील छ भन्ने जगजाहेर भएको छ । नगरभित्रका मानिस भोकै बस्नुपर्ने र तिनै नागरिकका लागि आएको चामल, दाल गाड्ने विकृत वुद्धि भएका कर्मचारी र जनप्रतिनिधिका कारण रतुवामाई नगरपालिका जिल्लाकै सबैभन्दा पिछडिएको स्थानीय तह कहलिएको छ ।
डेरा बस्ने मानिसले अस्थायी रूपमा बसेपनि उसले डेरा बसुन्जेल घर र कोठाको संरक्षण गर्दछ, आफ्नै ठानेर स्याहार गर्दछ । तर रतुवामाई नगरपालिकाका जनप्रतिनिधि र केही स्वार्थमा लिप्त कर्मचारीका कारण जनताको राहत बगरमा फेला परेको छ ।