Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम



काठमाडौँ : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आइतबार बिहान ठूलो हिमपहिरो खसेको छ।

मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए।

पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए।

‘बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ’, उनले भने, ‘हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ।’

उनले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताए। ‘सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो’, लामाले भने, ‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ।’

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए।

नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पुर्याएको जानकारी आएको एसपी पाठकले बताए। ‘प्रहरीको टोली घटनास्थल पुगिसकेको छ, अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन’, उनले भने।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए।

वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ। यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ।

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन गृह मन्त्रालयको आग्रह

ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको र बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

‘बाढीले क्षति गर्ने सम्भावना हुन्छ। बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौँ’, गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार