विराटनगर : मोरङको दक्षिणपूर्वी सीमावर्ती रतुवामाई नगरपालिकामा दमकल नहुँदा यहाँका नागरिकले सास्ती बेहोर्दै आएका छन् । रतुवामाईमा दमकल नहुँदा सानातिना आगलागी हुँदासमेत निभाउन छिमेकी पालिकाको भर गर्नुपर्ने बाध्यता छ ।
शनिबार बिहान रतुवामाई ८ स्थित केदार परियारको घरमा आगलागी हुँदा उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाबाट दमकल मगाउनुपर्यो । टाढाबाट दमकल बोलाउदा क्षति बढी हुने गरेको छ ।
परियारको घर उर्लाबारी आमबारी सडकखण्डमै पर्छ । तर, पनि छिमेकी पालिकाबाट दमकल बोलाउँदा उनको घर पूर्णरुपमा जलेर नष्ट भयो । आगलागी भएको झन्डै १ घन्टापछि दमकल आइपुगेको थियो ।
दकमलका लागि घन्टै कुर्नुपर्दा धेरै क्षति भएको हो । घरमा रहेको २२ तोला सुन, १५ तोला चाँदी र ५ लाख नगद जल्दा करिब ४६ लाख ४६ हजार ५०० बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
हावाहुरीको मौसम शुरु भएसँगै हुन सक्ने आगलागी नियन्त्रणका लागि रतुवामाईमा सधैँ दमकलको अभाव खड्कीने गरेको छ । पालिकामा वर्षेनी आगलागीका दर्जनौँ घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । तर, पनि नगरमा दमकल ल्याउनका लागि नगरपालिकाले कुनै चासो देखाएको छैन् ।
निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरेका छन् । तर विगतदेखि नै ठूलो समस्याका रूपमा रहेका आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरणतर्फ भने कुनै बजेट विनियोजन गरेको पाईदैन् ।
आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागी घट्ना न्यूनीकरणका लागि नगरपालिकाले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप छ ।