विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर-८ स्थित केदार परियारको घरमा आगलागी हुँदा ४६ लाख ४६ हजार बराबरको क्षति भएको छ ।
शनिबार बिहान परियारको घरमा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको भनाई छ ।
आगलागीबाट परियारको काठको दुई तले घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
घरमा रहेको २२ तोला सुन, १५ तोला चाँदी र ५ लाख नगद जल्दा करिब ४६ लाख ४६ हजार ५०० बराबरको क्षति भएको सिजुवा प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणका लागि उर्लाबारी र पथरी नगरपालिकाका दुई वटा वारुण यन्त्र आएपनि घर पूर्णरुपमा जलेको हो ।
रतुवामाईमा दकमल नहुँदा समस्या
रतुवामाई नगरपालिकासँग आफ्नो दमकल नभएका कारण समस्या भएको हो । आगलागी भएपछि बाहिरबाट दमकल बोलाउँदा घटना बढ्ने गरेको स्थानीयहरुको गुनासो छ ।
हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि रतुवामाईमा सधैँ दमकलको अभाव खड्कीने गरेको छ । पालिकामा वर्षेनी आगलागीका दर्जनौँ घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरेका छन् । तर विगतदेखि नै ठूलो समस्याका रूपमा रहेका आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरणतर्फ भने कुनै बजेट विनियोजन गरेको पाईदैन् ।
आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागी घट्ना न्यूनीकरणका लागि नगरपालिकाले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप छ । दमकल खरिद गर्न रतुवामाईले चासो देखाएको छैन् ।