Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सार्वजनिक लेखा समितिले थाल्यो हुलाकी राजमार्गको अनुगमन



विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत हुलाकी सडक आयोजनामा भएको ढिलासुस्तीसम्बन्धी स्थलगत अनुगमन थालेको छ ।

बिहीबार प्रतिनिधिसभाका सांसद तथा सार्वजनिक लेखा समितिका सदस्य रामकृष्ण यादवको संयोजकत्वमा आठ सदस्यीय टोलीले मधेस प्रदेशमा पर्ने हुलाकी राजमार्गको स्थलगत अनुगमन थालेको हो ।

बैशाख ४ गतेदेखि सुरु भएको स्थलगत अनुगमन ७ गतेसम्म जारी रहने स्थलगत अनुगमन समितिका संयोजक रामकृष्ण यादवले जानकारी दिए । उनले प्रदेशमा राजमार्गको प्रारम्भिक स्थलगत अनुगमनका क्रममा जिल्लैपिच्छे फरक–फरक मापदण्डका आधारमा निर्माण भइरहेको पाइएको बताए ।

‘हामीले वैशाख ४ गतेदेखि मधेस प्रदेशको सप्तरी र सुनसरीको सिमानामा पर्ने कञ्चनपुरबाट स्थलगत अनुगमन थालेका छौँ’, संयोजक यादवले भने, ‘सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, पर्सालगायत जिल्लाको अनुगमन गरिसकेका छौँ । अझै दुई जिल्लाको अनुगमन गर्न बाँकी छ ।’

संयोजक यादवले स्थलगत अनुगमनका क्रममा राष्ट्रिय गौरवको सूचीमा रहेको हुलाकी सडकको निर्माण कछुवाको गतिमा भइरहेको बताए ।

प्रारम्भिक अनुगमनका आधारमा सडक कालोपत्रको काममा पनि एकरुपता नभएको पाइएको उनले बताए । यादवले भने, ‘कुनै ठाउँमा दुई किलोमिटर सडक कालोपत्र भएको छ । सोहीसँग जोडिएको अर्को ठाउँमा एक किमी छ भने कतै त्यसै अलपत्र पारेर छाडिएको छ ।’

राजमार्गको मधेस प्रदेशमा पर्ने खण्डको अनुगमन गर्नका लागि संयोजक यादवको नेतृत्वमा आठ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, देवप्रसाद तिमिल्सिना, प्रदीपकुमार यादव, मञ्जु खाण र मनिष झा छन् ।

साथै सार्वजनिक लेखा समितिका कर्मचारी पनि स्थलगत अनुगमन खटिएका छन् ।

सार्वजनिक लेखा समितिको सभापति ऋषिकेश पोखरेलले चाढैँ सबै क्षेत्रका सडक अनुगमन गर्ने बताए । चैत २३ गते समितिका सभापति ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले सरकारका अर्थ सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव तथा कार्यबहाक महालेखा परीक्षकसँग छलफल गरी सडक निर्माणमा ढिलासुस्ती नगर्न निर्देशन गर्दै अनुगमन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार