Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारले स्रोत सुनिश्चित भएको बजेट ल्याएको छ : मन्त्री आङ्बो


  • Purbeli Press
  • बिहिबार, असार २ २०७९

विराटनगर : प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट वृद्धि भएको विषयमा अत्तालिनु नपर्ने बताएका छन् ।

बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै मन्त्री आङ्बोले आगामी आर्थिक वर्षका लागि करको दायरा सहित श्रोत सुनिश्चित भएकाले वर्तमान सरकारले ल्याएको बजेटमा आपत्ति जनाइहाल्नु पर्ने कुनै कारण नभएको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले राजश्वको क्षेत्र बढाउन यातायातमा विशेष योजना ल्याइएको बताए । उनले प्रदेश १ सरकारले सवारी साधनका लागि ५ वर्षसम्मको कर एकै पटक तिर्दा १० प्रतिशतसम्म छुट दिइने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।

एक पालिका एक उत्पादन र आयातलाई प्रतिस्थापन गर्न सहयोग पुग्ने गरी बजेट ल्याएको प्रदेश सरकारको दाबी छ ।

मन्त्री आङ्बोले ‘कृषि क्षेत्रको रुपान्तरण, व्यवसायीकरण र विविधीकरण’ भन्ने मूल नाराका साथ प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम लागू गर्न दूध उत्पादक किसानलाई प्रति लिटर २ रुपैयाँका दरले अनुदान दिइने बजेटमा व्यवस्था गरिएको बताए ।

सरकारले पहाडी क्षेत्रमा बाँस खेती प्रवद्र्धन गर्नको लागि धनकुटाको औद्योगिक ग्राम नामक संस्थासँग मिलेर काम गर्न बजेट व्यवस्था गरिएको जनाएको छ ।

मन्त्री आङ्बोले बजेटको आकारलाई व्यवस्थित गर्ने बारेमा सरकारको श्रोतले धान्ने खालको बजेट निर्माण भएको दाबी गरे ।

प्रदेश सरकारले राजश्वको क्षेत्र पहिचान गर्न राजश्व परामर्शका लागि ४ वटा समिति निर्माण गरेर १४ जिल्लामा पुगेर राजश्व संकलनका बारेमा छलफल भएको मन्त्री आङ्बोको दाबी छ ।

प्रदेश १ सरकारले शिक्षा क्षेत्रमा बजेट घटाएको छ । मन्त्री आङ्बोले बजेट घटेको स्वीकार गरेका छन् । ‘अहिले प्रदेशमा मन्त्रालयको संख्या धेरै छ’, उनले भने, ‘पहिला सामाजिक विकास मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने विषयहरु अहिले सम्बन्धित मन्त्रालयले हेर्ने भएकाले शिक्षामा बजेट कम भएको हो ।’

प्रदेश १ सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट प्रदेश सभामा पेस गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार