विराटनगर : यतिबेला सम्पूर्ण देशको ध्यान इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा केन्द्रित छ । २०७९ मंसिर ४ गते भएको निर्वाचनका गठबन्धनका उम्मेदवार हराउँदै निर्वाचित भएका सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुँदैछ ।
आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि दलहरु उम्मेदवारी घोषणा गरेर निर्वाचनको तयारीमा जुटिसकेका छन् । सुवास नेम्वाङले लगातार पाँच पटक चुनाव जितेको यो क्षेत्रमा नेकपा एमालेले उनकै कान्छा छोरा सुहाङ नेम्वाङलाई अघि सारेको छ ।
बुबाको बिरासत जोगाउन सुहाङ अहिले आम मतदाताको घरघरमा पुगिरहेका छन् । सुहाङ उमेरले ३२ वर्षका भए । पछिल्लो समय मतदाताको रोजाइमा युवा पुस्तामा उम्मेदवार परेपछि र निर्वाचन क्षेत्रमा सुहाङको चर्चा बढेपछि उनलाई एमालेले टिकट दिएको हो ।
इलाममा कांग्रेसले जिल्ला सभापतिसमेत रहेका डम्बर बहादुर खड्कालाई टिकट दिएको छ । अघिल्लो निर्वाचनमा खड्का सुवाससँग झिनो मतले पराजित भएका थिए । सुवासले ३० हजार २० मत ल्याएर निर्वाचित हुँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।
अघिल्लो निर्वाचनमा बाबुसँग हारको बदला लिने दाउमा रहेका खड्कालाई यसपालि सुहाङ तगारो बन्ने देखिन्छ । किनकी अघिल्लो निर्वाचनमा एमाले एक्लै चुनावमा थियो । खड्कालाई त्यसबेला नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले सहयोग गरेका थिए । यसपटक कांग्रेस एक्लै चुनावमा छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) ले पनि युवा उम्मेदवार मिलन लिम्बूलाई टिकट दिएको छ । केही समयअघि मात्रै माओवादी परित्याग गरेका लिम्बू अन्तिम समयमा रास्वपाबाट उम्मेदवार बनेका हुन् । पेशाले पत्रकार रहेका लिम्बूले केही समयअघि एउटा टेलिभिजन अन्तवार्तामा रास्वपाको चर्को विरोध मात्रै गरेका थिएनन्, उनले आफू कुनै हालतमा रास्वपाबाट चुनाव नउठ्ने उद्घोष गरेका थिए । यो कुराले लिम्बूको आलोचना बढिरहेको छ ।
पछिल्लो समय कोशी नामकरणसँग असन्तुष्ट पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाएर चुनावी अभियानमा लागेको छ । इलाममा पहिचानवादीले पूराना दलको केही मत काट्न सक्ने आँकलन गरिएको छ ।
सुहाङलाई माओवादीको साथ
एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले सहयोग गर्ने भएको छ । एमालेको जिल्ला अध्यक्ष महेश बस्नेत र माओवादी केन्द्रका जिल्ला अध्यक्ष विजय खम्बुले दुई पार्टीका अध्यक्षबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएको भन्दै विज्ञप्ती जारी गरेका छन् । ‘उपनिर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकाले इलाम क्षेत्र नं २ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङ साझा उम्मेदवार भएको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
माओवादी केन्द्रीय सदस्य तथा इलाम उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस भएका धिरेन्द्र शर्माले केन्द्रबाट एमालेलाई सहयोग गर्न निर्देशन आएकाले आफूहरु सुहाङलाई जिताउने अभियानमा लागेको बताए ।
माओवादीको सहयोगले सुहाङलाई जित निकाल्न सहज हुने नेताहरुको बुझाइ छ ।
अघिल्लो निर्वाचनको समानुपातिक मतका आधारमा यस क्षेत्रमा एमालेले सर्वाधिक २६ हजार ५६२ मत पाएको छ । दोस्रो नम्बरमा रहेको कांग्रेसको मत २२ हजार ३३३ छ । यस्तै माओवादीले ५ हजार १५३ मत पाएको थियो । यस्तै रास्वापले ४६८६, राप्रपाले ११९१ र नेकपा एसले ५८३ मत पाएको थियो ।
एमाले र माओवादीको मत जोड्दा ३१ हजार ७१५ मत छ । माओवादीको समर्थनले चुनाव जित्नेमा एमाले आत्मविश्वासी देखिएको छ ।