विराटनगर : जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँच पालिकामा कर्फ्यु लगाएको छ । सुनसरीमा धार्मिक विवाद बढेपछि पाँच वटा पालिकामा कर्फ्यु आदेश जारी गरिएको हो ।
सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलका अनुसार एक युवकलाई कुटपिट गरेको विषयमा हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ । राजमार्गमा लामा दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ ।
हरिनगर गाउँपालिका १ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा शुक्रबार दुई समूहबीच झडप भएको थियो ।
शुक्रबार बिहानबाट अशान्त बनेको सुनसरीको भुटाहा बजार तनावग्रस्त बनेको थियो । हिन्दु र मुस्लिम समुदाय दोहोरा भिडन्तमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।
उक्त विवाद झडपमा परिणत हुँदा प्रहरीले ५१ राउण्ड हवाई फायर गरेको छ । यस्तै दुई जनालाई गोली लागेको बताइएको छ ।
भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरी भीड नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।