विराटनगर : झापामा धारिलो हतियार खन्ती प्रहार गरी एक युवाले आफ्नै साथीको हत्या गरेका छन् ।
बिहीबार बिहान ५ बजे भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा अन्दाजी ३५ वर्षीय सनम राई (गंगा) को हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सनमको हत्या उनकै साथी ३० वर्षीय लोकबहादुर राई (कमानसिंह) ले गरेका हुन् ।
लोकबहादुर गएराति सनमको घरमा गएर सुतेका थिए । सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हत्या गरी लोकबहादुर घटनास्थलमै रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।