Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोजपुरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु



विराटनगर : भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागी हुँदा एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ।

आगालागीबाट धनबहादुर कार्कीका २ नाती र एक नातिनीको मृत्यु भएको हो ।

आगोमा जलेर केदार कार्कीको छोरा ४ वर्षीय प्रनिश र रमेश कार्कीकी ५ वर्षीया छोरी दीपशिखा साथै अढाई वर्षीय छोरा युनिश कार्कीको मृत्यु भएको गाउँ कार्यपालिका सदस्य सजना परियारले जानकारी दिइन् ।

यस्तै जंगलबाट सुरु भएको आगालागीले भोजपुरको टक्सारमा ८ घर जलेर नष्ट भएको छ। भोजपु्र नगरपालिका- १२, टक्सारको मालेबाँसेस्थित जंगलको डढेलो बस्तीमा पस्दा स्थानीयबासिन्दाको घर जलेको हो।

शनिबार करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको ८ घर पूर्ण रुपले जलेर नष्ट भएको थियो।

घटनास्थलमा भोजपुर नगरपालिकाको बारुण यन्त्र, शसस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगालागी नियन्त्रणमा ल्याउने प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिए।

मानवीय क्षति नभएपनि क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको राईले जानकारी दिए। स्थानीय दुर्गा श्रेष्ठका अनुसार आगालागीले क्षति पुर्याएकाे मालबाँसे बस्तीबाट आगो झाँक्रीसल्ला टोलतिर सल्किएको छ। हावाहुरी चलेका कारण आगो नियन्त्रणमा ल्याउन समस्या भएको श्रेष्ठले बताए।

आगालागीबाट मानवीय र पशुचौपाया क्षति नभए पनि अन्नपात, सुनचाँदी पूर्ण रुपमा जलेर नष्ट भएको पीडित नरबहादुर कार्कीले सुनाए।

बढ्दो सुख्खा र खडेरीका कारण यस क्षेत्रका वनजंगलमा लाग्ने डढेलोले वर्षेनी नजिकैका गाउँबस्तीमा जोखिम बढ्ने गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार