Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सचिव तथा सहसचिवहरूलाई ‘ध्यान विज्ञान’



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको संयोजनमा जीवन विज्ञान चाबहिलको आयोजनामा विभिन्न मन्त्रालयका सचिव, सहसचिव लगायतलाई शनिवार एक दिने ध्यान विज्ञान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा.गणेशप्रसाद पाण्डेय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा विडारी, वन तथा वातावरण मन्त्रालयका सचिव डा. दिपककुमार खराल, राष्ट्रिय योजना आयोगका सचिव डा. तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रमुख तथा सचिव भरतमणी सुवेदीलगायत विभिन्न कार्यालयका प्रमुखहरू, सहसचिवहरू, उपसचिवहरूसहित ४० जनाबढी नेपाल सरकारको विशिष्ट व्यक्तिहरू सहभागी भए ।
कार्यक्रममा सहभागी मुख्य सचिव डा. बैकुण्ठ अर्यालले नेपाल ध्यानको उद्गम स्थल भएको बताउँदै यसलाई संसारभर फैलाउन पहल गर्नुपर्ने बताए । उनले आफुले सिकेको ध्यानका विधिहरू प्रयोग गर्दा खुसी र शान्ति पाइने बताए । ‘ध्यानको निरन्तर प्रयोगका लागि आफ्नो इमान्दारितामा भर पर्दछ’ उनले भने ‘ध्यानले मन र मस्तिष्क, मन र शरीरलाई एकाकार गर्न सहज हुन्छ । त्यसैले, यसलाई निरन्तरता दिदैं जीवनशैलीको अभिन्न अङ्ग बनाउनु पर्छ ।’
कार्यक्रममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्राकृतिक विज्ञान र सामाजिक विज्ञानलाई संयोजन गर्न सकियो भने जीवन बुझ्न सकिने भन्दै एकदिनको यो कार्यक्रमले त्यसका लागि बाटो खोलेको बताए । नउले एकदिनको ध्यान विज्ञान एक महिनाको तालिम जस्तो उपयोगी भएको बताउँदै मनमा खोजका लागि धेरै प्रश्न उब्जिएको बताए ।
कार्यक्रममा जीवन विकास विशेषज्ञद्वय एल पि भानु शर्मा र रमेश नेपालले ध्यानका विभिन्न विधिहरूको व्यवहारिक प्रयोग गरेका थिए । भने जीवनलाई सहज, शान्त र खुसी बनाउन मानवले अपनाउने पर्ने नवब्रतको बारेमा व्याख्या गरे । एल पि भानु शर्माले जीवन विज्ञानले मानिस भित्र रहेको खुसी, शान्ति, प्रेम आफैँ भित्र खोज्नका लागि प्रश्न गर्न सिकाउने बताए । मानिसले आफुमा भएको क्षमता चिन्नका लागि २०८० चैत्र १७ गतेदेखि ७ दिने विराट चक्र विज्ञान आयोजना गरिएको जानकारी दिदै बुद्धको जन्मस्थल लुम्बिनीमा ५ हजार ९ जनको सहभागीतामा हुने त्यस चक्रसाधनामा सहभागी हुन सबैलाई आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार