Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सावित्राले किन गुमाउँदै छिन् फाइनल खेल ?



विराटनगर : नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलबाट वञ्चित हुने भएकी छिन्।

वाफ महिला च्याम्पियनसिप फिफाको विन्डो भित्र नपर्ने हुनाले उनी फाइनल खेल खेल्न नपाउने भएकी हुन। सावित्रा जोर्डनविरुद्धको फाइनल खेल छाडेर आफू आबद्ध क्लब एना भानमा गुइनगाम्पमा फर्किनु पर्ने भएको छ।

‘फिफाको नियमले गर्दा उनी फाइनल खेल खेल्न नपाउने भएकी हुन’, एन्फा स्रोतले भन्यो। अखिल नेपाल फुटबल संघ एन्फाले पनि सावित्राले वाफ च्याम्पियन सिपको फाइनल गुमाउने आधिकारिक जानकारी दिइसकेको छ।

आबद्ध क्लब र सावित्राबीचको सम्झौतामा भने फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने सहमति छ। तर फिफाको नियमले गर्दा उनी फाइनल खेल्नबाट वञ्चित हुन लागेकी हुन।

नेपालले जोर्डनविरुद्धको वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल फागुन १७ गते राती खेल्दै छ। यो खेलमा उनी हुने छैनन्। तर यो प्रतियोगिताका यस अघिका ४ खेलामा सावित्राले ९ गोल गरेकी छिन्।

उपाधिका लागि आज जोर्डनको सामना गर्दै

साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच खेल हुँदैछ। नेपाल र जोर्डनबीचको खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपाल जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। तर, आजको खेल भने उसका लागि सहज हुने छैन। ५ पटकको विजेता एवं साविक विजेता समेत रहेको जोर्डनसँग नेपालको खेल निकै रोमाञ्चक हुने मानिएको छ।

समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनल पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार