विराटनगर : मोरङको पथरीशनिश्चरे वडा नम्बर ६ का वडाध्यक्ष कृष्णकुमार बस्नेतले मादक पदार्थ सेवन (मापसे) गरी हसन्दहबासीलाई अभद्र व्यवहार गरेका छन्।
आइतबार वडाध्यक्ष बस्नेतले स्थानीय तित्रिझाँक टोलमा गएर घडेरी मिलाउँदै गरेको अवस्थामा स्थानीयवासीलाई तथानाम गाली गरेका थिए । उनले डोजरलाई काम गर्न रोक लगाएपछि स्थानीयसँग घम्साघम्सी नै परेको एक स्थानीयले बताएका छन्।
दिउँसै मापसे सेवन गरेर त्यहाँ पुगेका वडाध्यक्ष बस्नेतले जग्गा कसको हो ? र डोजरले के काम गरिरहेको छ ? भन्ने कुरा बुझ्दै नबुझी स्थानीयसँग जाइलागेको स्थानीय पर्शुराम मण्डलले बताएका छन्।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष बस्नेतले कांग्रेसकै कार्यकर्ता स्थानीय सुरेन्द्रबहादुर निरौलाको पोखरीको माटो अर्काको घडेरीमा परेपछि उक्त माटो मिलाउन गएको डोजरलाई र स्थानीयवासीलाई मनपरी शब्द प्रयोग गरी विभिन्न किसिमका धम्की समेत दिएको स्थानीयले आरोप लगाएका छन्।
निरौलाले स्थानीय बिजय चन्द्रबंसीलाई ११ धुर जग्गा दिएकोमा सो जग्गा पुर्याइदिन खाडीतर्फको माटो मिलाउँदा वडाध्यक्ष बस्नेतले हात बनाउँदै आफूहरुविरुद्ध अपशब्द प्रयोग गरेकोमा स्थानीयले आपत्ति प्रकट गरेका छन्।
वडाध्यक्ष बस्नेतले गाउँलेहरुलाई धम्क्याउन थालेपछि प्रहरी चौकी हसन्दहका प्रहरीले उनलाई सम्झाई बुझाई लगेको थिए ।
उनीहरुले वडाध्यक्ष बस्नेतविरुद्ध प्रहरी चौकीमा उजुरी समेत दिएका छन। यस बारेमा प्रहरी चौकी हसन्दहमा सम्पर्क गर्दा घटना भएको दिन असई तीर्थ भण्डारी भएको तर मंगलबार असई भण्डारी बिदामा बसेका कारण यस बारेमा आफूलाई पूर्णरुपमा थाहा नभएको हवल्दार उमेशकुमार माझीले बताए ।

उनले स्थानीयले दिएको उजुरीका आधारमा दुबै तर्फलाई मंगलबार बोलाइएता पनि दुबैतर्फ उपस्थित नभएको जानकारी दिएका छन। असई भण्डारीको प्राइभेट नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन। त्यस्तै वडाध्यक्ष बस्नेतसँग थप कुराकानी बुझ्न खोज्दा पनि सम्पर्क हुन सकेन।
यसैबीच पर्शुराम मण्डल भन्छन्, ‘वडाध्यक्ष बस्नेतले तँ दादागिरी गर्ने होस् भन्दै मलाई मनपरी शब्द प्रयोग गरिरहेको अवस्थामा प्रहरीले उसलाई छुट्याएर लगे पनि उसले हामी सरोकार बिनाको मान्छेलाई मातेर कुट्न खोज्नु घोर अन्याय भएको छ। यस बिषयमा नगरपालिका, प्रशासन लगायतले हामीलाई न्याय दिलाउनुपर्छ।’
त्यसैगरी स्थानीय रोहिन मण्डलले वडाध्यक्ष बस्नेतले हामीलाई नियोजित ढंगले दुव्र्यवहार गरेको बताउँदै कहिलेसम्म उनको यस्तो हर्कत रहन्छ ? भन्दै प्रश्न गरेका छन् ।
उनले अर्कैको जग्गा भएकोले सरोकारवालासँगै कुरा गर्नुपर्नेमा छिमेकीको जग्गा नाप जोख गरी मिलाई रहेको अवस्थामा यस्तो हर्कत देखाउनु अशोभनीय रहेको बताएका छन्। स्थानीय गाउँलेहरुले समेत वडाध्यक्ष बस्नेतले आफ्नो मर्यादा बाहिर गएर व्यवहार गरेकोमा आपत्ति प्रकट गरेका छन्।
स्थानीयवासीहरु भन्छन्,‘उक्त पोखरी निरौलाको हो, हामीसँग किन हात बनाएर गाली गरेको ?’
यस बारेमा सुरेन्द्र निरौलाले भने, ‘मैले खेलकुद ग्राउण्डका लागि जग्गा दिएको र उनीहरुले मेरै खेतबाट माटो काटेर उक्त खाडी पुरेका हुन्। बाँकी रहेका पोखरीहरु मेरा भएको र मैले भोगचलन गर्दै आएकोमा यसमा आपत्ति भए मसँग कुरा गर्नुपर्नेमा सर्वसाधारण गाउँलेलाई स्थानीय सरकारको प्रमुखले यसरी थर्काउनु अत्यन्तै आपत्ति जनक छ।’
त्यसैगरी वडाध्यक्ष बस्नेतले केही दिन अगाडि स्थानीय गेलाबारी भन्ने ठाउँमा पनि मापसे गरेर अभद्र व्यबहार देखाएपछि उनले माफी माग्दै आइन्दा यस्तो काम दोहोरिने छैन् भन्दै कागज समेत गरेका थिए।