काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बालकुमारी क्षेत्रमा गरेको आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो । साथै सो आन्दोलनका क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले गत पुसमा ललितपुरमा भएको घटनाका दोषीलाई कारबाहीको माग गरे । सो घटनाबारे छानबिन गर्न गठिन समितिले दोषी ठह¥याएका सबै व्यक्तिलाई सरकारले कारबाही गर्न नसकेको तर तल्लो तहका प्रहरी कर्मचारीलाई मात्रै कारबाही गरेको आरोप उनले लगाए ।
साथै आर्थिक अनियमताको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेका व्यक्ति मन्त्रीका रुपमा बहाल रहेको विषयबारे पनि संसदको ध्यानाकर्षण गरे। लुम्बिनीको रामग्राम क्षेत्रलाई निजी कम्पनीलाई भाडामा दिने गरी अघि बढाइएको प्रक्रियाबारे पनि गम्भीर छानबिन गरिनुपर्ने उनले माग गरेका छन् ।