उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले शैक्षिक मापदण्ड नपुगेका, गुणस्तरमा कमजोर र कम विद्यार्थी भएका विद्यालयहरुलाई समायोजन गर्ने तयारी गरेको छ ।
शुक्रबार बसेको नगर शिक्षा समितिको बैठकमा विद्यालय समायोजनको विषयले प्रवेश पाएका नगर प्रमुख कालुमान लामाले जानकारी दिए ।
पछिल्लो समय पालिकाको शैक्षिक क्षेत्रको सुधारमा लागेका प्रमुख लामाले मापदण्ड नपुगेका र कम विद्यार्थी भएका विद्यालयको समायोजन नरोकिने बताए । उनका अनुसार गुणस्तरमा कमजोर भएका विद्यालय पनि समायोजनमा जानेछ ।
लामाले नगरभित्र भएका सामुदायिक विद्यालयमा दरबन्दी अभाव भइरहेको बताउँदै त्यसको समाधानका लागि माथिल्लो निकायमा पहल भइरहेको बताए ।
यस्तै नगरपालिकाले आगामी शैक्षिकसत्रदेखि अभिभावक सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको छ ।