Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मेयर कोइरालाले गरे वित्तीय साक्षरता कक्षाको अनुगमन



विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामी कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको अनुगमन गरेका छन् ।
विराटनगर वडा नम्बर ७ मा साकम्बरी वित्तीय साक्षरता कक्षाको मेयर कोइरालाले अनुगमन गरेका हुन् ।
महानगरपालिकासँगको सहकार्यमा सामी कार्यक्रमअन्तर्गत विराटनगर वडा नम्बर ४, ५, ७ र ९ नम्बरमा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको छ । हरेक वडामा वैदेशिक रोजगारी विप्रेषण प्राप्त गर्ने परिवारका २५ जना सदस्यहरु वित्तीय साक्षरतामा सहभागी भएका छन् । उनीहरुलाई ६ महिनासम्म वित्तीय साक्षरता तालिम दिइनेछ । जसमा वित्तीय व्यवस्थापन, मनोसामाजिक परामर्श, व्यावसायिक योजना, परिवार व्यवस्थापन, बालबालिकाको भविष्य, हिंसाबाट बच्ने उपाय, वैदेशिक रोजगारीमा रहेका परिवारलाई लाग्ने सामाजिक लाल्छनाबाट जोगिने जस्ता विषय समेटेर तालिम दिइने सामीका मोरङ जिल्ला कार्यक्रम संयोजक दीपक राउतले जानकारी दिए ।
अनुगमनका क्रममा मेयर कोइरालाले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले महानगरपालिकाले पनि स्वरोजगारमूलक विभिन्न तालिम दिइरहेको बताए । सामी कार्यक्रम विराटनगर महानगरपालिकासहित मोरङका उर्लाबारी, रंगेली र कानेपोखरीमा पनि सञ्चालित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार