विराटनगर : विराटनगरमा आइतबा बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्थानीयले ट्रकमा आगजनी गरेको विषयलाई लिएर नेपाल ट्रक यातायात व्यवसायी महांसघले भर्त्सना गरेको छ ।
आइतबार बिहान विराटनगर ५ स्थित बरगाछी चौकमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको थियो ।
ट्रकको ठक्करबाट चौधरीको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका थिए । घटनामा सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको र घाईतेको उपचारका लागि अस्पताल लगिरहेको अवस्थामा सुरक्षामा खटिएका सुरक्षाकर्मीको अगाडीनै अराजक गतिविधि भएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
सोमबार महासंघका महासचिव राजेन्द्र बिकम वानियाले विज्ञप्ती जारी गर्दै ट्रकमा आगजनी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘सडक दुर्घटना अप्रत्याशित र काबुवाहिरको परिस्थितिमा हुने भएकोले दुखद दुर्घटना पश्चात नागरिकको बाच्न पाउने अधिकार, सवारी चालक र श्रमिकको श्रम सुनिश्चितताको व्यवस्था नेपालको संविधान र कानूनले स्पष्ट गरेको अवस्थामा ऐन कानून हातमा लिई उपस्थित भिडलाई उत्तेजित गराएर दुर्घटनामा परेका पिडितहरुको मानविय उद्दार गर्न छाडेर दुर्घटना पछिको प्रति दुर्घटना गराउने व्यक्तिलाई पकाउ गरी कानुन बमोजिम कारवाही गरी क्षति भएको सवारी साधनको बिगो समेत निजहरुबाटै असुल उपर गराउन माग गर्दछौँ ।’
यस्तै उनले यस्ता गतिविधि नरोकिए महासंघ विरोध कार्यक्रममा उत्रन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
महासंघले गृहमन्त्रीलाई पनि पत्र लेख्दै घटनाको जानकारी गराएर घटनामा संलग्नलाई कारबाहीको माग गर्दै क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।