विराटनगर : सुनसरीको इनरुवाबाट प्रहरीले ठूलो परिणाममा नेपाली नक्कली नोट बरामद गरेको छ । भारतीय नम्बर प्लेटको स्कारपियोबाट प्रहरीले नेपाली १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो ।
नियमित चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले शंका लागेपछि बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडीलाई रोकेर खानतलासी गर्दा नक्कली पैसा बरामद गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
प्रहरीले इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट पैसा बरामद गरेको हो ।
स्कोरपियोको पछाडिको भागमा बोराभित्र झोलामा राखेर ल्याउँदै गरेको अवस्थामा १ हजार दरका नक्कली नोटहरु बरामद गरिएको हो ।
प्रहरीले स्कोरपियो चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई पक्राउ गरेको छ । गाडीभित्र रहेका अर्का एक व्यक्ति भने फरार छन् । उनको खोजी कार्य भइरहेको एसपी रेग्मीले बताए ।