Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सम्पत्ति शुद्धीकरण मुद्दामा माओवादी कोशीका कोषाध्यक्ष पुरी दोषी ठहर



विराटनगर : नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कमिटीका कोषाध्यक्ष रेवतराज पुरी (गगन) सम्पत्ति शुद्धीकरण मुद्धामा अदालतबाट दोषी ठहर भएका छन् । विषेश अदालतले पुरीलाई आइतबार सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर गरेको हो ।

विषेश अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायाण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।

गगन र उनकी श्रीमति सीमाको नामका ४ करोड ३ लाख ३४ हजार ९४ रुपैयाँ अवैध सम्पत्ति भएकाले सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर भएका हुन् ।

अदालतले सजाय निर्धारणका लागि फागुन ६ गते पेसी तोकेको छ ।

पुरीसहित २०७७ माघ २१ मा ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा दायर भएको थियो ।

पुरीलाई लामो समयदेखि सरकारी जग्गा हडेपेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको छ ।

दमकको बालुवाटार भनिने ठाउँमा २४ विगाहा जग्गा हत्याएको अभियोगमा पुरी केही वर्षअघि पक्राउसमेत परेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट मानिने पुरी लामो समयदेखि पार्टीको संरक्षणमा छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको मेयरमा पराजित बनेका पुरी २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार थिए ।

झापा क्षेत्र नम्बर ५(२) बाट प्रदेश सदस्यको उम्मेदवार बनेका पुरी एमालेका होमबहादुर थापासँग पराजित भएका थिए । थापाले २४ हजार १२९ मत ल्याएर चुनाव जित्दा पुरीले १७ हजार ३१५ मत मात्रै ल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार