विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा ‘कोशी प्रदेश ट्रफी’ टी–२० क्रिकेट हुने भएको हो ।
बिहीबार संघले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको जानकारी गराएको छ । संघका मोरङ अध्यक्ष मोहम्मद साद कुरैशीका अनुसार फागुन २२ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी कुल १० टिमको सहभागीता रहने आयोजकले जनाएको छ ।
क्रिकेट प्रतियोगिताको विजेता टिमले नगद ५ लाख र उपविजेताले नगद ३ लाख रुपैँयासहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ७५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको अध्यक्ष कुरैशीले बताए ।
उनले खेलहरु राउण्ड रोविनका आधारमा खेलाइने बताए । प्रतियोगिताका सबै खेलहरु विराटनगर-१९ स्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने आयोजकले बताएको छ ।
क्रिकेट संघ कोशी प्रदेशका अध्यक्ष सर्वजित राज पाण्डेले ‘कोशी प्रदेश ट्रफी’ टी-२० प्रतियोगिता प्रदेशका लागि निकै महत्वपूर्ण भएको बताए । प्रतियोगिताका नयाँ नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने पाण्डेको विश्वास छ ।