Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ग्रामथानका अध्यक्ष राष्ट्रिय सभाको निर्वाचनमा अनुपस्थित, नोबेलमा उपचार हुँदै



ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार

विराटनगरः मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अस्वस्थ भएपछि राष्ट्रिय सभाको निर्वाचनमा अनुपस्थित भएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन विराटनगर आएका गच्छदार बुधबार साँझ ७ बजे अचानक बेहोस भएर ढलेका थिए ।
निर्वाचनका लागि छलफल गर्न कांग्रेसले होटल स्ट्रन स्टारमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रम सकेर होटलमा खाना खाने समयमा उनी अचानक बेहोस भएका थिए ।

बेहोस भएर ढलेपछि गच्छदार उपचारका लागि विराटनगरकै पारस अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नहुने भएपनि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर छ । बिरामी भएर अस्पताल भर्ना भएपनि मतदानमा उनी सहभागी भएका छैनन् ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका गच्छदार राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका थिए ।

यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएका छैनन् । कार्य व्यस्तता देखाउँदै उनी मतदान गर्न नआएका हुन् ।

प्रदेशका सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता रहेको निर्वाचनमा कोशीमा दुई सिटमा चुनाव हुँदैछ ।

गठबन्धनले अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । एमाले–राप्रपा गठबन्धनबाट अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।

मतदान गर्न कुनै कारणले कोही मतदाता आउन नसकेमा अनुपस्थित भएकै मानिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार