विराटनगर : प्रतिनिधिसभाका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले बिचौलियाका कारण सेटिङमा मात्रै काम हुने गरेको खुलासा गरेका छन् । बुधबार विराटनगरमा मानव अधिकार एलायन्सले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले बिचौलियाहरुले कानुन बनाउने भएकाले जनताले दुख पाइरहेको बताए ।
पोखरेलले केही काम गर्न परे बिचौैलियासँग मिलेर गैर जिम्मेवार तथा गैर उत्तरदायी शासकले अठ्यारोलाई सजिलो बनाइदिने गरी काम गरिदिने गरेको बताए ।
यस्तै साँढे १७ खर्बको बजेटमा अहिले बेरुजु ९ खर्ब रहेको उनले बताए । उनले बेरुजु फछ्र्यौट गर्नका लागि मन्त्रालयलाई पत्र लेख्दा सचिवहरूले बेवास्ता गर्ने गरेको आरोप लगाए ।
‘बेरुजु फछ्र्यौटको लागि पटक पटक पत्र लेख्दा पनि सचिवहरू वैशाख कटेपछि सरुवा मागेर अर्कोमा गई हाल्ने प्रवृत्ति छ,’ उनले भने, ‘बसिरहेको मन्त्रालयमा लिने जति, खाने जति , खरिद गर्ने जति र ठेक्का लगाउने जति सबै सकेपछि अडिट आउँदा आफू बस्नुपर्छ भनेर सरुवा हुने गरेको देखिन्छ।’