Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उर्लाबारीमा १९ सय जना विपन्न तथा गरिबको नि: शुल्क स्वास्थ्य बिमा गरिने


  • Purbeli Press
  • सोमबार, जेष्ठ ३० २०७९

विराटनगर : उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले आगामि आर्थिक वर्षमा नगरभित्र रहेका एक हजार ९ सय जना बिपन्न तथा गरिबको नि: शुल्क स्वास्थ्य बिमा गर्ने उद्घोष गरेका छन् ।

खरेलले नगरका सबै वडा कार्यालयबाट एक/एक सयका दरले र नगरपालिका कार्यालयको तर्फबाट एक हजार गरी एक हजार ९ सय जनाको नि: शुल्क स्वास्थ्य विमा गर्ने बताए । उनले आफ्नो मान्छे र पार्टीको मान्छे भनेर वास्तविक बिपन्न र गरिव परिवार छुट्न नहुने भन्दै त्यसलाई ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् ।

उर्लाबारी उद्योग वाणिज्य संंघले सोमबार आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर खरेलले आगामी डेढ वर्षमा राजमार्ग विस्तार हुने भएकाले तत्काल ढल निर्माण गरेर बजेट दुरुपयोग गर्नुभन्दा तत्कालका लागि ढल सफा गराएर पुरानो मावा शाखा र मावा खोलामा पानी कटानको काम गर्ने प्रयास भईरहेको बताए ।

उनले उर्लाबारी नगरलाई सफा र स्वच्छ नगर बनाउन नगरका व्यवसायी र नागरिकसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष तेजकुमार रिजाल, पुर्व अध्यक्ष एवम् प्रमुख सल्लाहकार प्रितम खड्गीले उर्लाबारी नगरको बजारिकरण, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा सबैको भावनालाई समेटेर दृढताका साथ अघि बढ्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । कार्यक्रम संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार