Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङमा नेकपा एसको विजोगः पार्टी फुटाउन साथ दिएका जनप्रतिनिधिनै असन्तुष्ट



विराटनगर : नेकपा एमालेसँग विभाजन भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी बनाउँदा मोरङमा तत्कालीन चार जना वडा अध्यक्षले उनलाई साथ दिएका थिए ।

पार्टी विभाजन हुँदा नेपाललाई उर्लाबारी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मचिन्द्रकुमार कार्की, रतुवामाई १० का वडा अध्यक्ष टंक ढकाल, बुढिगंगा गाउँपालिका वडा नम्बर ४ का कासिम मिया र ५ का वडा अध्यक्ष रमेश कुमार खनालले साथ दिएका थिए ।

तर, पार्टी विभाजनमा साथ दिएकाहरु अहिले पार्टी नेतृत्वप्रति सन्तुष्टि छैनन् । यीमध्ये खनाल एमालेमै फर्किसकेका छन् । उनी अहिले किसान महासंघ मोरङको जिल्ला कमिटी सदस्य छन् ।

पार्टीले फुटको औचित्य पुष्टि गर्न नसकेको र वर्तमान अवस्थामा एमालेनै शक्तिशाली कम्युनिस्ट पार्टी भएकाले आफू एमालेमै फर्किएको उनले बताए ।

ढकाल पनि पार्टी निष्क्रिय छन् । स्थानीय तहको निर्वाचन पार्टीसँग असन्तृष्ट भएका ढकालले रतुवामाईको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसयता उनी पार्टीको गतिविधिमा संलग्न छैनन् । ‘म अहिले स्वतन्त्र छु, लौरो वाला स्वतन्त्र पनि होइन । घण्टीवाला पनि होइन । स्वतन्त्र नागरिक ।’ ढकालले भने, ‘चुनावपछि पार्टीसँग सम्पर्क छैन् । पार्टीका नेताले पनि खोजी गरेका छैनन् ।’ स्रोतका अनुसार ढकाल पार्टी नेतृत्वसँग असन्तुष्ट छन् ।

यस्तै कासिम मिया अहिले नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य छन् । उमेर बढी भएका कारण पनि आफूले प्रदेश सदस्यको जिम्मेवारी सम्हाल्न गाह्रो भइरहेको उनको भनाइ छ । ‘बुढो भइसके म, उमेरले गर्दा पनि प्रदेश कमिटीका कार्यक्रमहरुमा जान पाइरहेको छैन्,’ उनले भने, ‘पार्टीमा म निष्क्रिय नै त छैन तर, हाम्रो पार्टीप्रति जनताले गर्ने टिप्पणीले मन मरेको छ ।’

तत्काल अरु पार्टीमा जाने मनस्थिति नभएको बताएपनि उनले एमालेसँग पार्टी एकीकरण हुनेपर्ने बताए । ‘म एमाले छाडेर यता लागे । अर्को पार्टीमा जाने कुरा त सोचेको छैन् । तर, एमालेसँग मिल्नुपर्छ ।’ उनले भने ।

मचिन्द्र कार्की भने पार्टी काममा सक्रिय छन् । उनी नेकपा एस मोरङका जिल्ला कमिटी सदस्य हुन् ।


नेकपा समाजवादीमा भद्रगोल, मोरङका सचिव भन्छन्ः ‘पार्टीले फट्याई गरेपछि मिटिङमा जान छाँडे’

नेकपा एस मोरङका कोषाध्यक्ष राय र पूर्व वडाअध्यक्ष ढकाल दुई वर्षदेखि निष्क्रिय

प्रतिक्रिया
सम्बन्धित समाचार